सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
179
Shares
काठमाडौँ । मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनका लागि सबै राष्ट्रसेवक कर्मचारीहरूले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन्। पदको गरिमा कायम राख्दै नागरिकप्रतिको उत्तरदायित्व सधैँ केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) द्वारा आयोजित नेपाल सरकारका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृतहरूको ४०औँ आधारभूत प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै मुख्यसचिव अर्यालले नयाँ कर्मचारीहरूलाई स्वार्थ केन्द्रित नभई राष्ट्रसेवामा आफूलाई समर्पित गर्न अनुरोध गरे।
“राज्यको नीति र लक्ष्यअनुसार काम गर्दा कर्मचारीले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पारदर्शी, जिम्मेवार र सेवामुखी हुनुपर्छ,” उनले प्रशिक्षार्थी शाखा अधिकृतहरूलाई निर्देशित गर्दै भने।
मुख्यसचिव अर्यालले कार्यक्षेत्रमा जाँदा निष्पक्षता र कानुनको पालना अक्षरसः गर्नुपर्ने उल्लेख गर्दै नागरिकले महसुस गर्ने गरी सुशासन र सेवा प्रवाहमा गुणात्मक परिवर्तन ल्याउन युवा जनशक्तिको काँधमा ठुलो जिम्मेवारी रहेको बताए।