सभामुखमा रास्वपाको एकल उम्मेदवारी, डोलप्रसाद हुने निश्चित [भिडियो]
चैत २२ गते बस्ने प्रतिनिधिसभाको बैठकमा यससम्बन्धी औपचारिक घोषणा गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
702
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। संघीय संसद् सचिवालयले तोकेको उम्मेदवारी दर्ताको समयसीमाभित्र अर्यालको मात्र एकल प्रस्ताव दर्ता भएपछि उनी निर्विरोध हुने पक्का भएको हो।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको निर्धारित समयमा अर्यालबाहेक अन्य कसैको पनि उम्मेदवारी परेन। अर्यालको प्रस्ताव ११ बजेर ५ मिनेटमै दर्ता भएको थियो। आगामी आइतबार (चैत २२ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा यससम्बन्धी औपचारिक घोषणा गरिनेछ।
आगामी बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावलाई सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गर्ने कार्यतालिका छ। एकल उम्मेदवारी परेकाले समर्थकहरूले समर्थन गरेलगत्तै अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।
प्रतिनिधिसभामा १८२ सांसदसहित करिब दुई-तिहाइ बहुमत रहेको रास्वपाले सभामुख पद आफ्नो पक्षमा पारेपछि अब उपसभामुखका लागि अन्य दलहरूसँग छलफल सुरु गरेको छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान छ। त्यसैले, अब चयन हुने उपसभामुख महिला र अन्य दलबाट हुनुपर्नेछ, जसका लागि रास्वपाका शीर्ष नेताहरू राजनीतिक परामर्शमा जुटेका छन्।
'जेन-जी आन्दोलन' र 'नीलो क्रान्ति' पछि बदलिएको राजनीतिक समीकरणमा रास्वपाले राज्यका प्रमुख पदहरूमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ। डीपी अर्यालको चयनले संसद् सञ्चालनमा नयाँ ऊर्जा थपिने विश्वास रास्वपाले लिएको छ।