arrow

हिउँदे वर्षातले वन डढेलोको जोखिम घटाए पनि सचेत रहनुपर्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
gobinda-pd-sharma-ban.jpg

काठमाडौँ। वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले चालु आर्थिक वर्षमा वन डढेलोको घटना तुलनात्मक रूपमा कम हुने सम्भावना रहेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित वन डढेलोसम्बन्धी कार्यक्रममा उनले यस वर्ष भएको हिउँदे वर्षातका कारण डढेलोको जोखिम घट्ने संकेत देखिएको स्पष्ट पारे।

उनका अनुसार हिउँदे वर्षातले वन क्षेत्रमा रहेका पातपतिङ्गर कुहिन सहयोग गर्ने भएकाले प्राकृतिक रूपमा आगलागीको सम्भावना कम हुने गर्दछ।

सचिव शर्माले विगतको अनुभव अनुसार पुसको अन्त्यदेखि माघको शुरूआतसम्म निरन्तर वर्षा भएमा त्यस वर्ष वन डढेलोको जोखिम घट्ने गरेको बताए।

“हिउँदे वर्षातले पातपतिङ्गर माटोले सोस्ने र कुहिने भएकाले आगलागी फैलिने सम्भावना कम हुन्छ,” उनले भने।

यद्यपि उनले जलवायुका विभिन्न कारक-तापक्रम, सुख्खापन तथा भौगोलिक अवस्थाले डढेलोको जोखिममा प्रभाव पार्ने भएकाले पूर्ण रूपमा निश्चिन्त हुन नहुने चेतावनी दिए।

केही क्षेत्रमा जोखिम कम भए पनि अन्य संवेदनशील क्षेत्रमा डढेलोले बढी क्षति पुर्‍याउन सक्ने उनको भनाइ छ।

सचिव शर्माले आकस्मिक आगलागीबाट हुने क्षति न्यूनिकरणका लागि सम्बन्धित निकाय र स्थानीय समुदाय चनाखो हुनुपर्नेमा जोड दिए।

साथै वन डढेलोसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र दीर्घकालीन समाधान खोज्न थप अनुसन्धान आवश्यक रहेको पनि उनले उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ