नेपालमा मौसम सूचना प्रणाली विस्तारको प्रयास, चुनौती कायमै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
702
Shares
काठमाडौं । हरेक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो।
बढ्दो सहरीकरण र जलवायु परिवर्तनका कारण वातावरण तथा मौसम प्रणालीमा देखिएका प्रभावबारे सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
वरिष्ठ मौसमविद् विभूती पोखरेलले नेपालमा मौसम पूर्वानुमानको अवस्था, चुनौती र जलवायु परिवर्तनका असरबारे प्रकाश पारेकी छन्।
उनका अनुसार नेपालमा वर्षभरको मौसम एकैपटक पूर्वानुमान गर्ने अभ्यास नभए पनि सिजनल रूपमा पूर्वानुमान गरिन्छ। “समग्र वर्षको होइन, तर आगामी ६ महिना मनसुन कस्तो हुन्छ वा हिउँद कस्तो रहनेछ भन्ने आधारमा हामी पूर्वानुमान गर्छौं,” उनले बताइन्।
पोखरेलका अनुसार पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि र विषम मौसमी घटनाको जोखिम बढ्दै गएको छ।
मौसम पूर्वानुमानका लागि जल तथा मौसम विज्ञान विभागले देशभर रहेका अवलोकन केन्द्रबाट सङ्कलित तथ्यांक, आधुनिक प्रविधि र स्याटेलाइट तस्बिरहरूको विश्लेषण गर्ने गरेको छ।
नेपालको जटिल भौगोलिक बनावटका कारण मौसम पूर्वानुमान चुनौतीपूर्ण हुने उनले उल्लेख गरिन्। “तराई, पहाड र हिमाली क्षेत्रको विविधता भएकाले एउटै पूर्वानुमान सबै ठाउँमा लागू हुँदैन,” उनले भनिन्।
प्रविधि र स्रोतका हिसाबले विकसित राष्ट्रको तुलनामा नेपाल केही पछि भए पनि प्राविधिक दक्षता भने राम्रो रहेको उनको भनाइ छ।
विश्वव्यापी रूपमा मौसमसम्बन्धी प्रविधि साझा हुने भएकाले नेपालले पनि त्यसबाट लाभ लिइरहेको उनले बताइन्। तर, दुर्गम भूगोलका कारण प्रविधि विस्तारमा लागत बढी लाग्ने र जनशक्ति अभाव अझै चुनौतीका रूपमा रहेको छ।
जनतासम्म मौसम सूचना पुर्याउन विभागले सामाजिक सञ्जाल, एसएमएस र फोन कलजस्ता माध्यम प्रयोग गरिरहेको छ। साथै, सतर्कता प्रणाली लागू गर्ने तथा आइभिआर प्रणाली भित्र्याउने तयारी भइरहेको उनले जानकारी दिइन्।
हालको मौसम अवस्थाबारे बोल्दै उनले वर्षा हुनु सकारात्मक पक्ष भएको बताइन्। “वर्षाले बालीनाली र पानीका स्रोतलाई सहयोग गर्छ,” उनले भनिन्। तर, असिना, हुरी, मेघगर्जन र चट्याङका कारण हुने क्षतिलाई ध्यानमा राख्दै सचेत रहनुपर्नेमा उनले जोड दिइन्।
उनका अनुसार विषम मौसमी घटनाले बालीनाली मात्र नभई जनजीवनमा समेत असर पार्ने भएकाले समयमै सूचना लिनु र सतर्कता अपनाउनु आवश्यक छ।