शुरू भयो नागरिकता र परिचयपत्र सेवा अन्तरआवद्ध एकीकृत सेवा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
776
Shares
काठमाडौँ। सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह शुरू गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सो जानकारी दिएका हुन् ।
यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ ।
गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरेर जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हटेर सेवाग्राहीको समय र आर्थिक लागतसमेत बचत हुने बताए।
उनले भने, ‘आजको सूचना प्रविधिको युगमा नागरिकले सरकारी निकायका तथ्यांक भण्डारमा भएका समान प्रकृतिका विवरणहरूका लागि समेत फरक-फरक निकायका फरक-फरक फारम भर्नुपर्ने अवस्थालाई राष्ट्रिय परिचयपत्रको माध्यमबाट एकीकृत सेवा प्रवाह गराई सुशासन कायम गर्नका लागि गृह मन्त्रालय केन्द्रित रहेको छ ।’
उनले थपे, ‘राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता आवेदन फारम भरेर जैविक विवरणसहित आवेदन गर्न राष्ट्रिय परिचयपत्र इकाई रहेका स्थानमा वायोमेट्रिक जाने गरेको अवस्थाले नागरिकले खर्च गर्नुपरेको समय र लागतलाई न्यूनीकरण गर्ने मूल उद्देश्य रहेको छ।’
गृहमन्त्री अर्यालले भने, ‘हाल गृह मन्त्रालय सञ्चालनमा रहेको केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआवद्धता गरी राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्तासहितको आवेदन फारम भर्न नपर्ने बनाइ सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउँदा नागरिकलाई भन्झटरहित सेवा उपलब्ध गराउनेगरी सेवा शुरू गरेका छौँ ।’
उनले हालसम्म ओटा सेवा ठाउँबाट केन्द्रिकृत सेवा प्रवाह शुरू भइसकेको जानकारी दिँदै विस्तारै देशैभरी विस्तार गरिने जानकारी दिए।