दार्चुलाको तुइन हटाएर झोलुङ्गे पुल बनाउन हर्क साम्पाङले गरे देशव्यापी श्रमदानको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
969
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलाको दुर्गम क्षेत्रमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गर्दै देशव्यापी श्रमदानको आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले भौगोलिक विकटताका कारण मेसिन प्रयोग गर्न नसकिने ठाउँमा मानवीय श्रमबाटै पुल बनाउने संकल्प व्यक्त गरे।
साम्पाङका अनुसार पुल निर्माण स्थलको प्राविधिक र भौगोलिक अवस्था बुझ्न एउटा अग्रिम टोली त्यसतर्फ पठाइसकिएको छ। मोटर बाटोको पहुँच नभएकाले निर्माण स्थलमा डोजर, क्रसर वा अन्य भारी उपकरण लैजान सम्भव नभएको उनले बताए। "त्यहाँ बिजुलीको सुविधा छैन, जसले गर्दा ड्रिल मेसिन वा जेनेरेटर प्रयोग गर्न सकिँदैन। श्रमदानीहरूले घन, मार्तोल, बेल्चा, गैँती र झब्बलको भरमा ढुङ्गा–गिटी फुटाउनेदेखि बाटो खन्नेसम्मको काम हातैले गर्नुपर्ने हुन्छ," उनले भनेका छन्।
यो चुनौतीपूर्ण कार्य सम्पन्न गर्न १५ देखि २० दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ। साम्पाङले इच्छुक सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गर्न समेत आग्रह गरेका छन्। टोलीले स्थलगत रिपोर्ट दिएलगत्तै आफू पनि निर्माण स्थलमा खटिने उनले जानकारी दिए।