काठमाडौँका खोला र नदी ढलमुक्त बनाउने सबुज बानियाँकाे प्रतिबद्धता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १२ मंगलबार
715
Shares
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँका सभापति एवं काठमाडौँ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेद्वार सबुज कृष्ण बानियाँले आफू निर्वाचित भए काठमाडौँका खोला-नदीलाई र ढलमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
मंगलबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले काठमाडौँलाई प्रदुषणमुक्त र ढलमुक्त बनाउने प्रतिज्ञा गरेका हुन्।
उनले सिंगो काठमाडौँको वातावरणीय सुधार आफ्नो प्राथमिक एजेण्डा रहेको उल्लेख गरे।
उनले काठमाडौँका विभिन्न क्षेत्रबाट निर्वाचित हुने जुनसुकै दलका जनप्रतिनिधिसँग समन्वय गरेर खोलामा मिसिएको ढल व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि अग्रसर हुने दाबी गरे।
बानियाँले सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि उत्तिकै महत्व दिएको उल्लेख गर्दै परापूर्वकालदेखि रहेका सम्पदाको यथोचित व्यवस्थापन र प्रवर्द्धन गरिने बताए ।
काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन समन्वित पहल आवश्यक रहेको उनको भनाइ छ ।
उनले शिक्षा क्षेत्र सुधार आफ्नो अर्को प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर उकास्न विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए।
उनले भने, ‘म सिंगो काठमाडौँ र काठमाडौँको खोलालाई प्रदुषण र ढलमुक्त गर्ने संकल्प गर्न चाहन्छु । काठमाडौँका अन्य क्षेत्रबाट निर्वाचित भएर जाने जुनसुकै दलका नेतासँग समन्वय गरेर त्यसको अग्रपंक्तिमा रहेर काठमाडौँका खोलामा रहेको ढलको समस्या समाधान गर्छु। सम्पदाहरूको संरक्षण गर्ने कुरामा पनि सबै कुराको यथोचित व्यवस्थापन गरेर हाम्रा परापूर्वकालदेखि रहेका सांस्कृतिक सम्पदालाई अझै सशक्त रुपमा अगाडि बढाउने पनि प्रण गर्न चाहन्छु। शिक्षालाई गुणस्तर बनाउँदै सामुदायिक विद्यालयको गुणस्तर उकास्ने गरी कार्यक्रम अगाडि बढाउँछु। मैले धेरै विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष एवं विगतमा आफू पनि सोही पेशाबाट आएको हुनाले मलाई राम्रोसँग थाहा छ। अहिले यो क्षेत्र उच्च किसिमको शहरीकरण भइसकेको छ । यसको उच्च किसिमको व्यवस्थापन पनि गर्नुपर्छ। अहिलेको समयसन्दर्भअनुसार व्यवस्थित गर्न सबै पक्षसँग संवाद गर्न पनि चाहन्छु ।’
काठमाडौँ-६ उच्च स्तरीय शहरीकरण भइसकेको उल्लेख गर्दै बानियाँले व्यवस्थित शहरी व्यवस्थापनका लागि समयसापेक्ष योजना आवश्यक रहेको धारणा पनि राखे।
उनले सबै वर्ग, उमेर र समुदायको हकहित र भावनाअनुसार काम गर्ने प्रतिज्ञा गर्दै आशन्न निर्वाचनमा आफूलाई निर्वाचित गराउन समेत अपील गरे।