स्वदेशी चलचित्रको प्रवर्द्धन हुनेगरी कानून परिमार्जन हुन्छः कानून मन्त्री सिन्हा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
852
Shares
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धि कानून परिमार्जन गर्न लागिएको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानूनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिविम्वित गरेको समेत बताए।
उनले सरकारले देशले चाहे अनुसारको चलचित्र निर्माणका लागि आवश्यक नीतिगत र कानूनी व्यवस्था गर्न चाहेको समेत बताए ।
चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न सरकार प्रयासरत रहेको मन्त्री सिन्हाको भनाइ थियो ।
उनले भने, ‘चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न तथा स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र नियमन गर्न चलचित्रसम्बन्धी प्रचलित कानूनलाई संशोधन एवं एकीकरण गरेर यसलाई नयाँ स्वरुपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छ । यसमा यहाँ जुन छलफल भएको छ । त्यसले धेरै हदसम्म परिमार्जन गरेको अवस्था पनि छ । र, समाजले चाहेका, देशले चाहेका विभिन्न आयामहरुलाई यसमा समेटेको अवस्था छ । यसमा मन्त्रालयको कुरा पनि समेटिएको अवस्था छ । यहाँहरूको घुनिभूत छलफलबाट जुन यो मस्यौदा बनेको छ । यसप्रति आभार व्यक्त गर्न चाहन्छु ।’
मन्त्री सिन्हाले चलचित्रसम्बन्धी कानून निर्माणका लागि भएको विचार विमर्श अति उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।