arrow

पश्चिमबाट भित्रिँदै नयाँ मौसमी प्रणाली, शुक्रबारदेखि हिउँदे वर्षाको सम्भावना [भिडियो]

माघ ९ र १३ गते देशभर वर्षा र हिमपात हुने मौसमविद्को प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
mausam-pani.jpg

काठमाडौँ ।नेपालमा भोलि माघ ९ गते शुक्रबारदेखि हिउँदे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि भित्रिने नयाँ मौसमी प्रणालीका कारण शनिबार बेलुकासम्म देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ। 

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यो प्रणाली विशेष गरी पश्चिम नेपालबाट भित्रिने भएकाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना बढी छ। काठमाडौँ उपत्यकासम्म आइपुग्दा मौसम बदली भई हल्का वर्षा भए पनि पूर्वी नेपालमा भने यसको प्रभाव कम पर्ने देखिएको छ।

पश्चिमी वायुको प्रभावका कारण हुने यो वर्षा ठुलो झरीका रूपमा नभई हल्कादेखि मध्यम खालको मात्र हुनेछ। शनिबार बेलुकादेखि मौसममा सुधार आए पनि आगामी माघ १३ गते मंगलबार रातिबाट फेरि अर्को मौसमी प्रणाली भित्रिने सङ्केत देखिएको छ। 

उक्त दोस्रो प्रणालीले मंगलबार र बुधबार पहाडी भू-भागमा हल्का वर्षा र उच्च हिमाली भेगमा मध्यम खालको हिमपात गराउने मौसमविद् पौडेलले जानकारी दिए। यस वर्षको हिउँदमा औसतभन्दा कम वर्षा भएको र सुक्खा बढेको अवस्थामा हुन लागेको यो वर्षाले कृषि क्षेत्र र वायु प्रदूषण नियन्त्रणमा केही राहत दिने अपेक्षा गरिएको छ।

हाल देशभरको मौसम मुख्यतया सफा रहे पनि तराईका केही क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने क्रम जारी छ। गत साता पूर्वी नेपालको ताप्लेजुङ लगायतका केही हिमाली जिल्लामा हल्का वर्षा र हिमपात भए पनि देशभर व्यापक वर्षा हुन सकेको थिएन। 

यो वर्ष तापक्रम औसतभन्दा केही माथि रहेकाले यो वर्षाले चिसो बढाउनुका साथै धुलोयुक्त वातावरणलाई सफा बनाउन सहयोग पुर्‍याउने विज्ञहरूको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ