पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ - गगन थापा
केन्द्रीय कार्यसमितिले गत मंसिर १५ गते पारित गरेको महाधिवेशन कार्यतालिकाअनुसार आज देशभर वडा अधिवेशन हुनुपर्ने थियो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
2.1k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी यही पुसभित्रै विशेष महाधिवेशन गर्ने बाटोमा अगाडि बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले सम्पूर्ण कांग्रेसीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वानसमेत गरेका छन् ।
पार्टी केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन यही पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरे पनि नेतृत्वले तालिकाअनुसार कार्यक्रम अगाडि नबढाएपछि महामन्त्री थापाले अब पुस मसान्तभित्रै विशेष महाधिवेशन गर्ने जनाएका हुन् ।
गत असोज २९ गते नै विशेष महाधिवेशन माग गर्दै ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहितको माग कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाए पनि नेतृत्वले चाँसो नदिँदा महाधिवेशन नै अलपत्र परेको हो ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुधकामना व्यक्त गर्दै महामन्त्री थापाले अब विशेष महाधिवेशनमा होमिन पनि आग्रह गरेका हुन् ।
उनले यसो लेखेका छन् सामाजिक सञ्जालमा- आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा ' राष्ट्रिय एकता र मेलमिलाप' को आह्वान गरेर बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू नेपाल फर्किएको दिन !
राष्ट्रिय एकता र मेलमिलाप दिवस' को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन - भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ।
त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।
राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो। अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु।
पुनश्च: सबैलाई ४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको शुभकामना।
आज हुनुपर्ने थियो कांग्रेसको वडा अधिवेशन
केन्द्रीय कार्यसमितिले गत मंसिर १५ गते पारित गरेको महाधिवेशन कार्यतालिकाअनुसार आज देशभर वडा अधिवेशन हुनुपर्ने थियो । तर वडा अधिवेशनका लागि पार्टीले क्रियाशील सदस्यताको अद्यावधिक नपठाएसँगै अलपत्र परेको छ ।
पार्टीले वडा अधिवेशन स्थगनको सूचना पनि जारी गरेको छैन । अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो नलागेसँगै वडा अधिवेशन प्रभावित भएको छ ।
संस्थापनको पकड रहेका केही जिल्लामा क्रियाशील सदस्यता नवीकरण हुन बाँकी रहेको छ । साथै अधिकांश जिल्लाबाट नयाँ क्रियाशील सदस्यताको काम नसकिएका कारण वडा अधिवेशन प्रभावित भएको छ ।
कांग्रेस एक केन्द्रीय सदस्यले यो संस्थापनको जानी जानी भएको धृष्टता भएकाले अब पार्टी विशेष महाधिवेशनतर्फ लागेको बताए ।