कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षबीच निर्णायक वार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर चुलिएको विवाद समाधानका लागि दुई पक्षबीच घनीभूत वार्ता सुरु भएको छ। पार्टीभित्र देखिएको असाधारण संकट र आन्तरिक मतभेदलाई सहमतिको माध्यमबाट टुङ्ग्याउने उद्देश्यका साथ विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच छलफल अगाडि बढेको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको विशेष महाधिवेशनलाई वैधानिकता दिने वा नदिने भन्ने विषयमा पार्टी दुई धारमा विभाजित भएपछि निकास खोज्न दुवै पक्षले आ–आफ्नो तर्फबाट वार्ता समिति बनाएर संवाद थालेका हुन्।
विशेष महाधिवेशन पक्षधरको तर्फबाट वार्ता समितिमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्यसहित नेताहरू गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्। त्यसैगरी, संस्थापन समूह र डा. शेखर कोइराला पक्षको संयुक्त प्रतिनिधित्व गर्दै पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेता रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्तामा बसेका छन्।
यस वार्तामा मुख्यतया विशेष महाधिवेशनको संवैधानिक वैधता, पार्टीको विधानमा गर्नुपर्ने परिमार्जन, भावी नेतृत्वको मोडालिटी र पार्टीको आगामी कार्यदिशाबारे देखिएका गम्भीर मतभेदहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ।
विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको ठूलो संख्या र संस्थापन पक्षको अडानका कारण पार्टी विभाजनको संघारमा पुगेको बेला यो वार्तालाई निकै महत्त्वका साथ हेरिएको छ। वार्तामा सहभागी नेताहरूले पार्टीको एकता कायम राख्न अधिकतम लचकता अपनाउने बताए पनि हालसम्म कुनै ठोस निष्कर्ष भने निस्किसकेको छैन।
छलफल जारी रहेकाले आजै साँझसम्ममा दुवै पक्षबीच एउटा साझा समझदारी बन्ने र त्यसले कांग्रेसको भविष्यको राजनीतिक बाटो तय गर्ने अपेक्षा गरिएको छ। यद्यपि, सहमतिको आधिकारिक खाका सार्वजनिक हुन भने बाँकी नै छ।