भृकुटीमण्डप छिचोल्दै कांग्रेसका छ वटा जुलुस: विशेष महाधिवेशनका लागि उपत्यकाका मुख्य चोकहरूमा यसरी हुँदैछ भेला
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
2.3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षधरहरूले महाधिवेशन उद्घाटन हुनुअघि काठमाडौँका विभिन्न ६ स्थानबाट शक्ति प्रदर्शनसहित जुलुस निकाल्ने तयारी गरेका छन्। शुक्रबार जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी आइतबार हुने भेला र जुलुसको विस्तृत रुट सार्वजनिक गरेको हो। समितिले आइतबार बिहान ११ बजे तोकिएका स्थानहरूमा भेला हुन सबै कार्यकर्ताहरूलाई आह्वान गरेको छ।
रुट १: सुन्धारा यस स्थानमा चितवन, अर्घाखाँची, सुदूरपश्चिमका जिल्लाहरू र काठमाडौँ निर्वाचन क्षेत्र नं. ८, ९ र १० का कार्यकर्ता भेला हुनेछन्। जुलुस वीर अस्पताल, रत्नपार्क र पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
रुट २: रत्नपार्क नुवाकोट, रसुवा र धादिङका कार्यकर्ता यहाँ भेला भई सिधै भृकुटीमण्डप प्रस्थान गर्नेछन्।
रुट ३: पद्मकन्या क्याम्पस बाँके, बर्दिया, मधेश प्रदेशका जिल्लाहरू र काठमाडौँ निर्वाचन क्षेत्र नं. ५, ६ र ७ का कार्यकर्ताहरू यहाँ भेला हुनेछन्। यो जुलुस पुतलीसडक र शंकरदेव क्याम्पस हुँदै कार्यक्रम स्थल पुग्नेछ।
रुट ४: पद्मोदय तथा शंकरदेव क्याम्पस भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ३ का कार्यकर्ताहरू यहाँ भेला हुनेछन्।
रुट ५: कमलपोखरी काठमाडौँ निर्वाचन क्षेत्र नं. १ र ४ का सबै नगर तथा वडा समितिका कार्यकर्ताहरू कमलपोखरीमा भेला भई डिल्लीबजार, पुतलीसडक र शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप पुग्नेछन्।
रुट ६: कुपण्डोल ललितपुर र मकवानपुरका कार्यकर्ताहरू कुपण्डोलमा भेला भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा र रत्नपार्क हुँदै महाधिवेशन स्थल पुग्ने कार्यसूची रहेको छ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले यो शक्ति प्रदर्शनले पार्टीभित्र नयाँ ऊर्जा भर्ने दाबी गरेका छन्।