काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद र 'विशेष महाधिवेशन' का कारण उत्पन्न परिस्थिति समाधानतर्फ मोडिएको पार्टीका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताएका छन्। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच सघन संवाद सुरु भएसँगै आज रातभरिमा सहमतिको खाका तयार पारी भोलि बुधबार पार्टी एकताको सन्देश दिने तयारी गरिएको उनले बताए।
घिमिरेले सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वार्ताले सकारात्मक आकार लिइरहेको र आज रातिसम्म एउटा निष्कर्षमा पुगिने बताए। नेता घिमिरेका अनुसार शीर्ष तहमा भइरहेको यही वार्ताका कारण दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक समेत ढिलाइ भएको छ।
अहिले केन्द्रीय कार्यालय सानेपामा संस्थापन पक्षका नेताहरू केन्द्रीय समितिको बैठक बस्ने तयारीमा रहे पनि वार्ता नसकिएसम्म बैठक सुरु हुन सकेको छैन। यता भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोध गरिरहेका छन् ।
साथै विशेष महाधिवेशन पक्षले वार्तालाई प्राथमिकता दिइएको छ। विशेष महाधिवेशन पक्षधरले उठाएका विधानसम्मत माग र संस्थापन पक्षको पार्टी अनुशासनबीच मध्यमार्गी विन्दु खोज्न नेताहरू सक्रिय रहेका छन्।
दुवै पक्षबीच संवाद जारी रहेकाले भोलिसम्ममा पार्टीको आगामी कार्यदिशा, महाधिवेशनको मिति र शक्ति सन्तुलनका विषयमा एउटा ऐतिहासिक सहमति हुने अपेक्षा गरिएको छ।