कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज सानेपामा पत्रकार सम्मेलन गर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
1.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षले नयाँ मोड लिएको छ। पार्टीको संस्थापन पक्षले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको मुख्य उपस्थितिमा हुने यस सम्मेलनमा पार्टीका पछिल्ला विकसित घटनाक्रम र आन्तरिक विवादबारे आधिकारिक धारणा सार्वजनिक गरिनेछ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाडौँको भृकुटीमण्डपमा 'विशेष महाधिवेशन' आह्वान गरेका छन् छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइसकेकाले यो महाधिवेशन विधानसम्मत र बाध्यकारी भएको महामन्त्री पक्षको दाबी छ। तर, संस्थापन पक्षले भने नियमित महाधिवेशनको कार्यतालिका तय भइसकेको अवस्थामा यसलाई 'अवैधानिक' भन्दै आएको छ। आजको सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई उक्त भेलामा सहभागी नहुन पुनः कडा निर्देशन र आह्वान गरिने बताइएको छ।
कार्यवाहक सभापति खड्काले आगामी जेठ २८–३१, २०८३ मा १५ औँ नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मुखमा नेतृत्व परिवर्तन गर्दा पार्टीलाई क्षति पुग्ने संस्थापन पक्षको तर्क छ। आजको पत्रकार सम्मेलनमा निर्वाचनका लागि पार्टीको तयारी र आन्तरिक एकता कायम राख्न चालिने कदमहरूबारे पनि प्रकाश पारिनेछ।
महामन्त्री पक्षले भृकुटीमण्डपमा हलसमेत बुक गरिसकेको र १८ वटा व्यवस्थापन समितिहरू बनाएर तयारी तीव्र पारेको सन्दर्भमा पार्टी फुट्न सक्ने चिन्ता नेताहरूले व्यक्त गरेका छन्। संस्थापन पक्षले लिने आजको अडानले कांग्रेसको भविष्य कुन दिशामा जान्छ भन्ने निश्चित गर्नेछ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई 'पार्टी फुटाउने खेल' को संज्ञा दिइरहँदा महामन्त्री पक्षले भने यसलाई 'नेतृत्व हस्तान्तरण र सुदृढीकरण' को अवसर भनेको छ।