काठमाडौँ । नेपाल कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र गतिमा भएको जनाइएको छ । विशेष महाधिवेशन पक्षधरले अनामनगरस्थित नबिल बैंक भवनको आठौं तलाबाट पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो ।
महाधिवेशन भृकुटीमण्डपमा पुस २७ र २८ गते हुँदैछ ।
नेता सुवास पोखरेलले विशेष महाधिवेशनको लागि आफूहरुले तीव्र तयारी थालेको जानकारी दिए । विशेष महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको उनले बताए । उनले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौँ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरे ।
यता विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यलयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि भएको दुव्र्यवहार कार्यकर्ताको अन्तरआत्माको भावना भएको बताएको छ ।
सो पक्षधरले उक्त घटनाको जिम्मेवारी आफूहरुले नलिने बताएको हो । विशेष महाधिवेशन पक्षधरहरुले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधीलाई बाटो छेकेर दुव्र्यवहार गरेका थिए ।
तर उक्त घटनामा आफूहरुको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरुको दाबी छ । पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको बताए । उनले आफूहरुले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गरे ।