arrow

घरजग्गा र शेयर बजार कारोबार घट्दा राजस्वको लक्ष्य भेट्न कठिन [भिडियो]

पाँच महिनामा चार खर्ब नौ अर्ब ७८ करोड संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
tanka-pd-panday.jpg

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले चार खर्ब नौ अर्ब ७८ करोड राजश्व उठाएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति तीन अर्ब ४७ करोड सरकारले आम्दानी गरेको हो । यो लक्ष्यको तुलनामा ७८ दशमलव ७४ प्रतिशत हो । 

गत वर्षको सोही अवधिको तुलनामा राजश्व १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ।

अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्रतिकुल परिस्थितिमा पनि राजश्व गतवर्ष भन्दा सकारात्मक उठेको जानकारी दिए ।

उनका अनुसार राजश्वको चार ओटा क्षेत्रअन्तर्गत भन्सार, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ । तर आयकरतर्फ गत वर्षको तुलनामा आठ प्रतिशतले नेगेटिभ वृद्धिदर छ । 

नाकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्नु र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु मुख्य कारण रहेको उनको भनाइ छ ।

उनका अनुसार मंसिरसम्मको लक्ष्य नभेट्नुको अर्को कारण पुँजीगत लाभकरमा कमी आउनु पनि हो । 

घरजग्गाका कारोबार शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पूँजीगत लाभकरमा कम आएको र लक्ष्य भेट्न सकस परेको पाण्डेले जानकारी दिए ।

सहसचिव पाण्डेयले भने, ‘हाम्रो चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म राजश्वको अवस्था हेर्दा करिब ४०९ अर्बको राजश्व संकलन भएको छ । लक्ष्यअनुसार राजश्वको प्रगति हुन सकेको छैन । लक्ष्यअनुसारको प्रगति करिब ७८ प्रतिशत छ ।  गत वर्षको तुलनामा भने १दशमलव६ प्रतिशतको ग्रोथमा छौँ । जुन यस्तो प्रतिकुल परिस्थीतिमा पनि राजश्व गतवर्ष भन्दा सकारात्मक उठिरहेको छ। लक्ष्यअनुसार राजस्व उठाउनका लागि अर्थ मन्त्रालय र मातहतका विभाग, कार्यालय लागिरहेका छन् । आगामी असार मसान्तसम्म पुग्दा लक्ष्यअनुसार राजश्व असुल हुन्छ । राजश्वको चार ओटा क्षेत्र अन्तर्गत भन्सार, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ । आयकरतर्फ गत वर्षको तुलनामा आठ प्रतिशतले नेगेटिभ वृद्धिदर छ । नाकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्यो र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आएको देखिन्छ । अर्कोतर्फ पूँजीगत लाभकरमा पनि कमी आएको देखिन्छ । जस्तै घरजग्गाका कारोबार शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पूँजीगत लाभकरमा केही कम छ ।’

घरजग्गाका कित्ताकाट खुलिसकेको र  शेयर कारोबारमा पनि अलिकति उछाल आउने छनक देखिएकाले आगामी दिनमा राजश्व बढ्ने अर्थ मन्त्रालयको विश्वास छ ।

अर्थ मन्त्रालयका अनुसार आशन्न निर्वाचनमा हुने खर्च र पुनर्निर्माणमा गरिने खर्चले पनि राजश्व वृद्धिमा सहयोग पुर्याउने र लक्ष्य भेट्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ