काठमाडौँ । नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीले सुध्रिन सके नेपाली कांग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौती नै चुनौती रहेको टिप्पणी गरे ।
उनले सुध्रिएर जनतामाझ जानसके तल्लोेस्तरसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताए । उनले कांग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक भएको जिकिर गरे ।
उनले भने, ‘हामी सुध्रिएनौँ भने त चारैतिर चुनौती नै चुनौती छ । हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुरालाई अब सुधार गर्छौंँ भनेर जाँदा जुनसुकै शक्ति आए पनि कांग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन । कांग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक हो ।’
कांग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रिय महाधिवेशन गरिसक्नुपर्ने भए पनि केही समय सर्नसक्ने अवस्था रहेको बताए ।
उनले क्रियाशील सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने भन्दै छिटो महाधिवेशन गर्न आफ्नो जोडबल रहने बताए ।
उनले भने, ‘पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो । क्रियाशील सदस्यताका कारण केही समय हेरफेर हुँदैछ भन्ने बुझिएको छ । क्रियाशील सदस्य दुई दिनभित्रमा सम्पन्न गरेर जिल्लामा पठाए वडा तहबाट महाधिवेशन सम्पन्न हुनेछ । त्यसमा मेरो जोडबल रहन्छ । बदलिँदो परिस्थितिमा बदलिँदो ढंगबाट हामी अघि बढ्नुपर्छ । मेरो पार्टीले पनि त्यो किसिमको निर्णय लेला भन्ने विश्वास छ ।’
नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने बताए ।