कांग्रेसको विशेष महाधिवेशनका लागि स्मरणपत्र बुझाए हस्ताक्षरकर्ताले
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
2.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग्दै गत असोज २९ गते नै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित पत्र बुझाएका पक्षधरले आज फेरि पार्टी नेतृत्वलाई विशेष महाधिवेशनका लागि सम्झाएका छन् ।
पार्टीले आगामी पुस २९ गतेभित्र जसरी पनि विशेष महाधिवेशन गर्नैपर्ने विधानतः बाध्यता भए पनि त्यसलाई लत्याउन खोजेपछि विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका हुन् ।
महाधिवेशन प्रतिनिधि बलदेव तिमिल्सिनाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर विशेष महाधिवेशन आह्वानका लागि स्मरण पत्र बुझाएको बताए । उनले समयमै महाधिवेशन गर्ने छाँट नेतृत्वले नदेखाएपछि विशेष महाधिवेशनका लागि स्मरणपत्र बुझाइएको बताए ।
असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । पार्टी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र महाधिवेशन गर्नैपर्छ ।
यही पुसभित्र समय सकिँदै गर्दा नेतृत्वले विशेष महाधिवेशनका लागि चासो दिएको छैन । त्यसकै लागि अहिले पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका हुन् ।