महाधिवेशनको कार्यतालिका बिथोल्न केही जिल्लामा बदनियतका साथ क्रियाशीलको काम रोकियो : महामन्त्री थापा
‘म पार्टी सभापतिलाई आग्रह गर्छु उहाँले कार्यवाहक दिनुभएको छ तर उहाँले कार्यवाहक दिँदै गर्दा नाम मात्रैको भएको छ, आज बैठकमा आउनुभएको छैन तर बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ’
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
2.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा बैठकमा नआएको भन्दै बाँकी रहेको बैठक र बाँकी रहेको शक्ति सबै बाहिरबाट अभ्यास भइरहेको टिप्पणी गरेका छन्।
बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘म पार्टी सभापतिलाई आग्रह गर्छु । उहाँले कार्यवाहक दिनुभएको छ । तर उहाँले कार्यवाहक दिँदै गर्दा नाम मात्रैको भएको छ । आज बैठकमा आउनुभएको छैन । तर बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ ।’
उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समयमात्र खेर फालिरहेको बताए ।
महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए ।
उनले भने, ‘कांग्रेसले गएको एक डेड महिनाभित्रमा खाली आफ्नो पार्टी कार्यालयभित्र बसेका छौँ हामीले अनावश्यक समय खेर फालिसक्यौँ। अब फेरि समय खेर फाल्ने कुरा हुँदैन । आलटाल गर्ने कुरा हुँदैन । यसरी महाधिवेशनमा जाँदैनौं भन्ने हो भने विकल्प खुला छ । साथीहरूले माग राख्नुभएको छ, त्यो पनि विधानले भनेको छ । विशेष महाधिवेशन गर्ने र त्यहीबाट अधिवेशनले गर्ने निर्णय गर्छ ।’
उनले सभापतिले पार्टीको हितका लागि तपाईंहरू मिल्नूस्, मंसिरभित्र अधिवेशन गर्नूस्, म सबै कुराबाट अलग भएर गएँ भनेर भनेको दिन देशभरका साथीहरूले सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्ने बोध गरेको धारणा राखे ।
थापाले क्रियाशील सदस्यता विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउने प्रस्ताव गरेको बताए ।
उनले पार्टीको १५औँ महाधिवेशनेको कार्यतालिका बिथोल्न केही जिल्लामा बद्नीयतका साथ क्रियाशीलको काम रोकिएको भन्दै त्यस्ता स्थानमा केन्द्रबाट प्रतिनिधि पठाउनुपर्ने बताए ।
उनले समस्या समाधान नभएका क्षेत्रमा पूरानै क्रियाशीलताको आधारमा संगठनात्मक कार्य अगाडि बढाउनुपर्ने समेत बताए।
उनले विवाद सिर्जना गरेर महाधिवेशनको कार्यतालिका बिथोल्ने जिल्लालाई महाधिवेशनमै सहभागी हुन नपाउनेसम्मको कारबाही गर्ने प्रस्ताव समेत आफूले राखेको जानकारी दिए ।
उनले वडा र क्षेत्रको महाधिवेशनको कार्यतालिकामा आवश्यक संशोधन गर्न सकिने भए पनि केन्द्रीय महाधिवेशनको कार्यतालिका तलमाथि नहुने स्पष्ट पारे ।