arrow

युक्रेनी राष्ट्रपति र ट्रम्पका दूतबीच बर्लिनमा भेटवार्ता हुँदै

युक्रेन युद्धविराम र इयू प्रवेशबारे छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
trump-volo.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले युक्रेनमा युद्धविराम गराउने सम्बन्धमा यस सप्ताहन्तमा बर्लिनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग भेटवार्ता गर्दैछन्।

युरोपेली नेताहरूसँगको भेटवार्ताअघि राष्ट्रपति जेलेन्स्कीले शनिबार रूसले ‘अझै पनि युक्रेनलाई नष्ट गर्ने लक्ष्य राखेको’ बताएका छन्। किएभका अनुसार शुक्रबार रातभर ऊर्जा सुविधाहरूमा 'व्यापक' रूसी आक्रमण भएको थियो, जसका कारण देशभरि हजारौं व्यक्ति बिजुलीबाट वञ्चित भएका छन्। रूसले युक्रेनी आक्रमणको बदला लिन 'हाइपरसोनिक ब्यालिस्टिक मिसाइल'ले युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको थियो। जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा 'रूसी आतङ्क' युद्ध समाप्त गर्ने बारेमा नभई यसलाई भड्काउनेतर्फ उद्दत रहेको बताएका छन्।

ट्रम्पले गत महिना युद्ध अन्त्य गर्ने २८ बुँदे योजना सार्वजनिक गरेदेखि नै किएभलाई महत्त्वपूर्ण क्षेत्र छोड्नेसहित मस्कोको मागलाई प्रतिध्वनित गरेको भन्दै आलोचित योजनामा सहमतिमा पुग्न दबाब दिइरहेका छन्। अमेरिकाको यो प्रस्तावले अमेरिका र युक्रेनका युरोपेली सहयोगीहरूबीच कूटनीतिक वार्ताको लहर सुरु गरेको छ र किएभले वाशिंगटनलाई संशोधित संस्करण पठाएको छ। ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पका दूत विटकोफले शनिबार जेलेन्स्की र युरोपेली नेताहरूसँग शान्ति वार्ताको स्थितिबारे छलफल गर्ने बताएका छन्।

जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको व्यापार फोरममा जेलेन्स्कीले भाग लिएपछि जर्मन सरकारले आगामी सोमबार बर्लिनले युरोपेली सङ्घ र नेटोका प्रमुखहरूसहितका नेताहरूलाई आतिथ्य प्रदान गर्ने जनाएको छ। अमेरिकी नेतृत्वको पछिल्लो योजनामा युक्रेनलाई युरोपेली सङ्घमा शीघ्र प्रवेश गराउने धारणा समावेश गरिएको छ, जसको मस्कोले विरोध गर्दछ। फ्रान्सका अनुसार, युरोपेली र युक्रेनीहरूले युक्रेनले कुनै पनि क्षेत्रीय सहुलियतमा वार्ता गर्नुअघि अमेरिकालाई 'सुरक्षा सुनिश्चितता' प्रदान गर्न आग्रह गरिरहेका छन्।

एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकी पछिल्लो योजना अन्तर्गत युक्रेन सन् २०२७ को जनवरीको सुरूमा इयूमा सामेल हुने लक्ष्य छ, यद्यपि इयू प्रवेश प्रक्रिया सामान्यतया लामो हुन्छ र हङ्गेरीसहितका केही इयू राष्ट्रले यसको विरोध गर्दै आएका छन्। जेलेन्स्कीले ट्रम्पले इयू सदस्यताको विरोध गर्ने नेताहरूलाई उनीहरूको अडान परिवर्तन गर्न मनाउन 'प्रभावका विभिन्न आधारहरू' प्रयोग गर्न सक्ने बताएका छन्।

मस्कोले अमेरिकी योजनालाई संशोधन गर्ने प्रयासमाथि शङ्का गरे पनि रूसी संलग्नतामा हुने सामान्य संशोधनसहित योजनालाई समर्थन गर्ने सङ्केत गरेको छ। क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी दूत विटकोफबीचको छलफलपछि मस्कोले अद्यावधिक संस्करण नदेखेको र यो एक लामो प्रक्रिया हुने बताएका छन्। यसैबीच, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बन्दरगाह र ऊर्जा सुविधाहरूमा आक्रमणको विषयसमेतलाई समेटेर 'सीमित युद्धविराम' गर्न आह्वान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ