भन्सार एजेन्टको आन्दोलन स्थगित, विभागसँग वार्ता निष्कर्षमा
ऐन संशोधनका लागि पहल गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
791
Shares
काठमाडौँ । देशभर 'पेन डाउन' गरी आन्दोलनमा होमिएका भन्सार एजेन्ट महासंघ र भन्सार विभागबीचको वार्ता आज निष्कर्षमा पुगेको छ। विभागमा भएको वार्तामा व्यावहारिक पक्षहरू तत्काल कार्यान्वयन गर्ने र ऐन, नियमावलीमा भएका व्यवस्था सम्बोधनका लागि अर्थ मन्त्रालयसँग सहजीकरण गर्ने सहमति भएको हो।
वार्तामा सहभागी भन्सार एजेन्ट महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले विभागसँग सहमति भएसँगै अब भन्सारमा अवरोध नगरिने बताएका छन्। उनका अनुसार हालै कार्यान्वयनमा आएको नयाँ भन्सार ऐन २०८२ मा भएको दण्ड जरिवानाका कठोर प्रावधानहरू को विरोधमा भन्सार एजेन्टले देशभरका कार्यालयमा मङ्गलबारदेखि 'पेन डाउन' गर्नुपरेको थियो। ऐनमा भएका व्यवस्था संशोधनका लागि विभागले सहजीकरण गर्ने सहमति जुटेको घिमिरेले बताए। उनले विगतमा भन्सार एजेन्टले दिएका सुझावहरूलाई सरकारले कार्यान्वयन गर्न आलटाल गर्दा आन्दोलित हुनुपरेको स्पष्ट पारे।
घिमिरेका अनुसार, भन्सार ऐन, २०८२ मा व्यवस्था गरिएका कतिपय दफाहरूले विशेष गरी दण्ड जरिवानालाई कडाइ गरेको छ, जसले मानवीय त्रुटिका कारणले हुनसक्ने कुराहरूलाई पनि दण्ड जरिवानामा जोडेको हुँदा मालवस्तुको घोषणा गर्न सक्ने अवस्था नरहेकाले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनुपरेको थियो। वीरगञ्ज भन्सार कार्यालयबाट आइतबार सुरु भएको आन्दोलन सोमबार भैरहवा हुँदै मङ्गलबारदेखि देशव्यापी पेन डाउनमा परिणत भएको थियो।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार एजेन्टहरू सहमतिमा आउन तयार भएसँगै केही अवरोधहरू हटेको जानकारी दिए। उनका अनुसार वार्ताका क्रममा एजेन्टका मागहरू सुनियो र विभागले सहजीकरण गर्ने समझदारी भएको छ। महानिर्देशक भण्डारीले भन्सार ऐन संशोधनको काम अहिले नै गर्न सम्भव नभए पनि विभागले यसका लागि सहजीकरण गरिदिने र नियमावलीमा समेट्न सक्ने जायज मागहरूलाई अधिकतम रूपमा सम्बोधन गर्न कोशिस गर्ने बताए।