arrow

भन्सारमा एमआरपीको झन्झट हट्यो: अब 'स्वघोषणा' गरेर सामान छुटाउन पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
Bhansar bibhag.jpg

काठमाडौँ । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्ने अनिवार्य व्यवस्थाका कारण उत्पन्न व्यवहारिक कठिनाइ र झन्झटलाई सम्बोधन गर्दै आयात प्रक्रियामा ठूलो सहजीकरण गरेको छ। विभागले गरेको नयाँ पत्राचारअनुसार अब आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेरै सामान छुटाउन पाउने भएका छन्। 

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७९ चैत ३० गते सूचना जारी गर्दै नेपालमा आयात गरिने सम्पूर्ण वस्तुहरूमा पैठारीकर्ताले अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था गरेपछि विशेषगरी औद्योगिक कच्चा पदार्थ, मेसिनरी औजारका साथै फलफूल तथा तरकारी जस्ता नाशवान वस्तुहरूको भन्सार जाँचपासमा समस्या देखिएको थियो।

भन्सार विभागका निर्देशक भूपाल राज शाक्यद्वारा जारी गरिएको पत्रमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र आर्थिक ऐनमार्फत यस विषयमा थप स्पष्टता कायम गरिने उल्लेख छ। तत्कालको समस्या समाधानका लागि विभागले २०८० वैशाख १६ गतेको निर्णयानुसार नयाँ व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार आयातकर्ताले भन्सार विन्दुमा वस्तुको एमआरपी स्वघोषणा गर्नुपर्नेछ भने पैठारी भइसकेपछि तर बिक्री वितरण गर्नुअघि अनिवार्य रूपमा लेबल लगाएर मात्र वस्तु बिक्री गर्ने प्रतिबद्धता जनाएमा भन्सार जाँचपास गरिनेछ। 

अनिवार्य एमआरपीको व्यवस्थाले गर्दा धेरै सामानहरू भन्सारमै रोकिएका र व्यवसायीहरूले विरोध गरिरहेको अवस्थामा विभागको यो कदमले औद्योगिक क्षेत्र र खाद्यान्न तथा फलफूल व्यवसायीहरूलाई ठूलो राहत मिल्नुका साथै समग्र व्यापार सहजीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ