काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक प्रतिवेदनअनुसार नेपालको वैदेशिक व्यापारमा १०.१५ प्रतिशतले घाटा वृद्धि भएको छ। पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा नेपालले कुल १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापारमा १७.३६ प्रतिशतको वृद्धि देखिए पनि आयातको हिस्सा अत्यधिक हुनाले घाटाको खाडल झनै गहिरिएको हो। समीक्षा अवधिमा कुल ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने मात्र १ खर्ब ४२ अर्ब १ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ, जसले कुल व्यापारमा आयातको हिस्सा ८६.८६ र निर्यातको हिस्सा १३.१४ प्रतिशत मात्र रहेको देखाउँछ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँगको व्यापार सन्तुलन निकै चुनौतीपूर्ण देखिएको छ, जहाँ ६ महिनाको अवधिमा ५ खर्ब ३२ अर्ब ४५ करोड ६७ लाखको आयात हुँदा मात्र १ खर्ब १५ अर्ब ७४ करोड ३६ लाखको निर्यात भएको छ। यसले गर्दा भारतसँग मात्रै नेपालको व्यापार घाटा ४ खर्ब १६ अर्ब ७१ करोड ३० लाख पुगेको छ।
अर्कोतर्फ, चीनसँगको व्यापार घाटा १ खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख रहेको छ, जहाँ १ खर्ब ९६ अर्ब ९४ लाखको आयात हुँदा निर्यात भने ६४ करोड ९ लाख रुपैयाँको मात्र हुन सकेको छ। अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया जस्ता मुलुकसँग पनि नेपाल ठूलो घाटामा छ भने डेनमार्क, रोमानिया र स्वीडेन जस्ता केही देशसँग भने नेपालको व्यापार नाफामा रहेको देखिन्छ।
वस्तुगत आधारमा हेर्दा नेपालको आयातमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी रहेको छ, जसमा ५८ अर्ब २७ करोडको डिजेल, ३३ अर्ब ७ करोडको पेट्रोल र २७ अर्ब ४ करोडको खाना पकाउने ग्यास समावेश छ। यसबाहेक स्मार्टफोन, अप्रशोधित सोयाविन तेल र फलामजन्य वस्तुहरू पनि प्रमुख आयातका रूपमा रहेका छन्, जसबाट सरकारले २ खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख भन्सार राजस्व सङ्कलन गरेको छ। निर्याततर्फ भने ५६ अर्ब ८ करोड बराबरको सोयाविन तेल मुख्य वस्तु बनेको छ भने अलैँची, सूर्यमुखी तेल र कार्पेटले पनि निर्यातमा केही योगदान पुर्याएका छन्।