arrow

रसुवा भन्सारको प्रगति, छ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
rasuwa-bhansar-karyalayas.jpg

काठमाडौँ । ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १ अर्ब १६ करोड राजस्व सङ्कलन भएको जानकारी दिएको छ। सोमबार आयोजित विशेष समारोहमा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले नाकाको पछिल्लो अवस्थाबारे जानकारी दिँदै हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको बताए। 

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सुक्खा बन्दरगाह क्षेत्रमा थुपारेको ढुङ्गा र बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको छ। हालसम्मको सरसफाइबाट करिब दुई सय ५० वटा ट्रक अटाउने ठाउँ तयार भइसकेको भए पनि केही भागमा अझै सफाइको काम बाँकी रहेको छ।

भन्सार दिवसकै अवसरमा उत्कृष्ट कार्य गर्ने व्यवसायी र कर्मचारीलाई सम्मान समेत गरिएको छ। व्यवसायीतर्फ गत आर्थिक वर्षमा विद्युतीय सवारीसाधन आयात गरी रु ३ अर्ब २१ करोड राजस्व बुझाउने सिजी मोटर सप्लायर्स र रु ७४ करोड बराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स सम्मानित भएका छन्। 

कर्मचारीतर्फ नायब सुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशीलाई पुरस्कृत गरियो। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले रसुवागढी नाकालाई नीति–नियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा उच्च बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले सडक सुधार कार्ययोजनालाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरूलाई सिधा बनाउन सवारी चालकहरूले माग गरेका छन्। 

यसैगरी, हिउँदको सुक्खा र वर्षायामको पहिरो पन्छाएर रसुवागढी खण्डमा सडक सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै रसुवागढी जलविद्युत् केन्द्रलाई पनि प्रशंसा गरिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ