आठ महिनामै ११ खर्बको व्यापार घाटा: आयात र निर्यात दुवैमा वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
752
Shares
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक (फागुन मसान्त) सम्ममा नेपालले करिब रू ११ खर्बको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल रू १४ खर्ब ४० अर्ब ३६ करोडको वैदेशिक व्यापार हुँदा मुलुकलाई रू १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा भएको हो।
पछिल्लो आठ महिनामा नेपालले रू १२ खर्ब ८९ अर्ब २५ करोडको वस्तु आयात गरेको छ भने रू १ खर्ब ९१ अर्ब ११ करोड बराबरको मात्र निर्यात गर्न सकेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशतले बढेको विभागले जनाएको छ।
नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार भारतसँगको व्यापार घाटा मात्र रू ५ खर्ब ६७ अर्ब ३९ करोड पुगेको छ। सो अवधिमा भारतबाट रू ७ खर्ब २४ अर्बको आयात हुँदा रू १ खर्ब ५६ अर्ब ६६ करोडको मात्र निर्यात भएको छ।
त्यस्तै, चीनसँग रू २ खर्ब ६४ अर्ब ६८ करोडको व्यापार घाटा रहेको छ। चीनबाट रू २ खर्ब ७५ अर्ब ६६ करोडको आयात भएको छ भने निर्यात भने मात्र रू ९८ करोड ३३ लाखमा खुम्चिएको छ। नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकहरूमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन्।
केही मुलुकहरूसँग भने नेपालको व्यापार नाफामा देखिएको छ। जसमा रोमानिया (रू ५० करोड ६५ लाख), नर्वे (रू ३ करोड ३३ लाख) र आइसल्याण्ड (रू २ करोड ५७ लाख) प्रमुख छन्।
आयाततर्फ पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठुलो छ। आठ महिनामा रू ८२ अर्बको डिजेल, रू ४३ अर्बको पेट्रोल र रू ३७ अर्बको एलपी ग्यास आयात भएको छ। यस्तै, रू ८१ अर्बको कच्चा भटमास तेल, रू २९ अर्बको स्मार्टफोन र रू २३ अर्बको सुन आयात भएको तथ्याङ्कले देखाउँछ।
नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तुमा भटमास तेल पहिलो स्थानमा छ, जसको हिस्सा रू ७५ अर्ब ७७ करोड रहेको छ। अन्य प्रमुख निर्यातित वस्तुहरूमा अलैँची (रू ९ अर्ब ४९ करोड), कार्पेट (रू ६ अर्ब ५३ करोड), सूर्यमुखी तेल (रू ६ अर्ब २० करोड) र पाम तेल (रू ४ अर्ब ३२ करोड) रहेका छन्।