arrow

एमआरपी कार्यान्वयनमा विवाद: वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
dry-port-birjung.jpg

काठमाडौँ ।  मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज भन्सारको सेवा प्रवाह अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनको विषयलाई लिएर एक सातादेखि प्रभावित भएको छ ।

भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य एमआरपी लागू गर्न खोज्दा व्यवसायीहरूले विरोध जनाएपछि गत वैशाख १५ गतेदेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, तरकारी र फलफूल बाहेकका अन्य सामानको जाँचपास हुन सकेको छैन । आयात तथा निर्यातकर्ताहरू भन्सार प्रक्रियामा सहभागी नहुँदा भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधन रोकिने क्रम बढ्दो छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले दैनिक दुई सयभन्दा धेरै मालवाहक सवारीसाधन थपिने भएकाले औसतमा एक हजार चार सय हाराहारीका सवारीसाधन जाँच प्रक्रियामा रोकिएको बताए । भन्सारको अवस्थाबारे जानकारी दिँदै उनले भने, “हामी त भन्सार जाँचपासको प्रक्रिया गराउन तयार छौँ । तर, आयातकर्ता भन्सार जाँचपास गर्ने फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो ।” उनले भन्सार विभागले आवश्यक समन्वय गरिरहेको र छिट्टै यो समस्या अन्त्य हुने अपेक्षा रहेको समेत बताए ।

भन्सार जाँचपास नहुँदा भारतीय सडकमा समेत मालवाहक सवारीसाधनको लामो लाइन लागेको छ । एकीकृत सुरक्षा भन्सार जाँचचौकीको व्यवस्थापन सम्हालेको टीआरएस हिमालयन लर्जी पार्क प्रालिका इन्चार्ज गणेश घिमिरेले भने, “अहिले देखिएको समस्या जतिसक्दो छिटो समाधान होस् भन्ने चाहाना छ ।”

दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्दै आएको वीरगन्ज भन्सारको काम रोकिँदा राज्य र व्यवसायी दुवैलाई घाटा भइरहेको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले यो समस्या लामो समयसम्म रहँदा कसैलाई फाइदा नहुने भएकाले आवश्यक समन्वय गरेर समस्या टुङ्ग्याउन अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ