प्रधानमन्त्री र पार्टी सभापतिको लागि गगन थापाः आशा र विश्वास
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ मंसिर २४ बुधबार
2.8k
Shares
यतिबेला देशमा नेपाली कांग्रेस र नेकपा एमालेको महाधिवेशन र प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी बढिरहेको छ । देशका दुई ठूला दलहरूको महाधिवेशन चलिरहँदा कार्यकर्तातहमा नेतृत्वमा कसलाई ल्याउने होला वा को आउने होला भनेर बहस गरिनु स्वभाविकै हो ।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन/विद्रोह पछि बनेको नयाँ सरकारले आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचनको तयारी गरिरहेको छ । अहिलेको यो सरकारको गठन र प्रतिनिधि सभा निर्वाचनको सवालमा अनेक प्रश्न र आशङ्का उठाइए पनि संविधानलाई लयमा ल्याउन निर्वाचनको विकल्प छैन । कुनै बिचौलीको घरमा रातारात देशका मुख्य दुई प्रमुख दलहरूबाट बनेको करिब दुई तिहाईको केपी शर्मा ओलीको सरकार अप्रत्याशित रुपमा करिब चौध महिनामै ढलेकोले एमालेले आगामी फागुन २१ मा हुने निर्वाचनलाई सहज रुपमा स्वीकार्न सकेको छैन । उसले अनेक बहानाबाजी गरिरहेको देखिन्छ । अन्तत: एमालेलाई निर्वाचनमा सहभागी नभई सुखै छैन । नेकपा एमालेले निर्वाचनमा सहभागिताको लागि जति ढिलो गर्छ,उति उसैलाई घाटा लाग्छ ।
नेपालमा विशेषगरी बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि भएका निर्वाचन र त्यसका परिणामलाई निकै गहिरिएर अध्ययन गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबाट कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा खासगरी नेपाली कांग्रेस र आम जनमानसले पनि चासो,चिन्तन, चिन्ता र बहस शुरु गर्नुपर्ने देखिन्छ ।
नेपाली जनताले पुराना दल र तिनका नेतृत्वलाई आँखा चिम्लेर विश्वास गर्दा देशमा भदौ २४ सम्मको विध्वंश बेहोर्नु पर्यो । देशका निर्णायक शक्ति भनेका जनता हुन् भने पनि जनताको मन र मतलाई नेताले दुरुपयोग गरी देशलाई दलदलमा फसाए ।
दलले राज्य र राज्य संयन्त्रलाई राजनीतिकरण गरी निष्क्रिय, अचल र दूषित बनाउँदा भदौ २४ गते देश राज्यविहीन हुने अवस्थासम्म पुग्यो । दलहरूले राज्य संयन्त्रलाई चरम राजनीतिकरण गर्दा अन्तत: असुरक्षाका कारण देशको सर्वोच्च व्यक्ति राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूसमेत भागाभागको अवस्था आयो ।
नेपालको संविधान २०७२ अनुसार नेपालको सर्व शक्तिवान राजनीतिक पद भनेको प्रधानमन्त्री नै हो । देशको प्रधानमन्त्रीमा दृढ़ सङ्कल्प,आत्मविश्वास,जनउत्तरदायी भावना, लोकतन्त्रप्रति झुकाव,निश्चित योजना र उद्देश्य हुने हो भने देश बनाउन उसलाई कसैले रोक्नै सक्दैन ।
कुनै पनि देशको सामाजिक,आर्थिक र भौतिक समृद्धिको लागि त्यो देशको नेतृत्व नै सक्षम हुनुपर्छ भन्ने कुरा जान्नको लागि हाम्रै छिमेकी मुलुकहरू चीन र भारतलाई हेरे पुग्छ । आज चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन र भारतको सामाजिक,आर्थिक र भौतिक विकासमा विश्वमा उत्कृष्ट मुलुक बनाएका छन् । एउटा व्यक्तिका प्रयासमै विश्वमा छोटो समयमै लि क्वान युले सिंगापुर,पार्क चुंग हीले दक्षिण कोरिया,रासिद बिन र शेख जायदले यूएई,पल कावामेले रुवाण्डा जस्ता देशहरूलाई आर्थिक दृष्टिकोणलाई समृद्ध मुलुक बनाएका छन् ।
नेपालमा बहुदलीय प्रजातन्त्रको पुनः प्राप्ति भएको ३६ वर्ष बितिसक्दा पनि देशले तात्त्विक परिवर्तन पाउन सकेको छैन । यो परिवर्तन आउन नसक्नुको प्रमुख कारण भनेको देशले असल र सक्षम नेतृत्व नै पाउन नसक्नु हो । जनताहरूमा राजनीतिक चेतनाको कमजोरीका कारण निर्वाचनमा अन्धभक्त हुँदा आजको परिस्थिति बेहोर्नु परेको हो भन्ने कुरालाई पनि स्वीकार्नु पर्छ ।
पटकपटक असक्षम प्रमाणित भएका पात्रहरूलाई बारम्बार निर्वाचित गराउँदा देशले सुशासन, सामाजिक न्याय र समृद्धि पाउन सकेन । देशका केही सीमित पात्रहरूले राज्य संयन्त्रलाई व्यक्तिगत कम्पनी जस्तो बनाउँदा देशमा आजको जटिल र अस्थिर अवस्था आयो।
आम नेपाली जनताले आफूले विगतमा गरेका केही कमीकमजोरीलाई पनि समीक्षा गरी अब अर्को नयाँ र भिन्न निर्णय गर्नुपर्छ।हाम्रो देश नेपाल बनाउनको लागि कोही पनि बाहिरबाट फुत्त आउँदैनन्। देशभित्रबाटै देश बनाउने नायक निर्वाचन प्रक्रियाबाटै खोज्नुपर्छ ।
सबैलाई एकोहोरो गाली गरेर यो पनि खत्तम र त्यो पनि खत्तम भनेर समस्याको निराकरण निस्किदैन । कसैलाई देवत्वकरण र दानवीकरण गर्दैमा पनि देश बन्दैन ।भीडका पछाडि वा लोकप्रियताले पनि समस्याको दीर्घकालीन समाधान निस्किदैन । लोकतन्त्रमा देशको नेतृत्व खोज्ने भनेको राजनीतिक दलहरूबाट नै हो । राजनीतिक दलभन्दा बाहिर रहेको कुनै पात्र क्षणिक रुपमा लोकप्रिय देखिए पनि राजनीतिभित्र लामो समयसम्म टिकाउ हुन सक्दैन ।
राजनीति गर्न राजनीतिक व्यक्तित्व नै चाहिन्छ । राजनीति गर्ने व्यक्ति जनताका आशा,आक्रोश,आलोचना,टिप्पणी,गाली सहने सक्ने अत्यन्तै धैर्य र सहिष्णु हुनुपर्छ । एकछिन देखिएको गडगडाहट खहरेखोला,बकम्फुस गफ र उखान टुक्का अनि हाहुको हावाको भरमा मात्र कुनै पात्रले देशको नेतृत्व गर्न सक्दैन र मुलुकले समृद्धि पनि पाउन सक्दैन।
अब यति भनेपछि अबको प्रधानमन्त्रीको लागि सर्वोपयुक्त पात्र को हुन सक्छ ? के अहिलेको पछिल्लो जन आक्रोश, जनमत र जेन-जी विद्रोहलाई बुझ्न सक्ने एक पात्र नेपाली कांग्रेसका वर्तमान महामन्त्री गगन थापा हुन सक्दैनन् र ? हुनत मैले गगन थापालाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर २०७९ को निर्वाचन अघि र पछि दुईवटा आलेखहरू यही हाम्राकुरामा प्रकाशित गरेको पनि थिएँ ।
सायद त्यतिबेला नेपाली कांग्रेसले गगन थापालाई नेपालको प्रधानमन्त्री बनाएको भए आजको जस्तो अस्थिर,तरल र जटिल विषम राजनीतिक परिस्थिति नआउन पनि सक्थ्यो ।यहाँ मैले गगन थापालाई पूरै दूधले नुहाएका अत्यन्तै शुद्ध र पवित्र पात्र भनी देवत्वकरण गर्न खोजेको छैन । गगन थापाका पनि केही कमीकमजोरी पक्कै छन् ।
उनले महामन्त्री भएपछि नेपाली कांग्रेसलाई जुन गतिमा लैजानु पर्थ्यो र जस्तो सङ्गठन बनाउनु पर्थ्यो,त्यो बनाउन सकेनन् । महामन्त्री जस्तो जिम्मेवार पद पाउँदा पार्टीलाई नयाँ आयामका साथ लैजानुपर्ने थियो । त्यो पनि बाहिरबाट हेर्दा देखिएको छैन । गगन थापाले नेपाली कांग्रेस भित्रको पुरानो दाइभाइको अत्यन्तै सङ्कुचित र अलोकतान्त्रिक सङ्गठनलाई तोड्ने प्रयास गरे पनि साथ पाएनन् ।
गगन थापाको नियत र क्षमतामाथि त्यति धेरै शङ्का गरेर असफल पात्र नै हुन् भन्न सकिँदैन । नेपाली राजनीतिकर्मीहरूमध्ये तुलनात्मक रुपमा आशाले भरिएका नेताको त्यान्द्रो गगन थापामा नै देखिन्छ । मैले गगन थापाका असफलता र कमजोरीलाई केलाएर आलोचनात्मक आलेख पनि प्रकाशित गरेकै थिएँ । गगन थापामा अझै नेपाली कांग्रेसमा मात्र नभएर पुराना र नयाँ पुस्ताका सबै नेपालीहरूको सम्बन्धको सेतु र आशाको केन्द्र बनेर प्रखर रुपमा बाहिर देखिनु पर्छ। वास्तवमा नेपालका दलहरू भित्रबाट एउटा आशालाग्दो राजनीतिक पात्र खोज्नु पर्दा गगन थापा नै देखिन्छन् ।
ल यदि गगन थापा नहुँदा को हुन सक्छन् त ? नेपाली कांग्रेसकै अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का वा शेखर कोइराला,एमालेका केपी ओली,नेपाली कम्युनिष्ट पार्टीका प्रचण्ड, रास्वपाका रवि लामिछाने,उज्यालो नेपालका कुलमान घिसिङ, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ । यी बाहेक पक्कै पनि कोही नयाँ फुत्त आउनेवाला त छैन ।
नेपाली कांग्रेसमा अहिले देखिएका गगन बाहेकका जे जति पुराना अनुहार छन्,ती सबै असक्षम प्रमाणित भएका पात्र हुन् । शेखर कोइराला बाहेक प्रायः सबै मन्त्री र उपप्रधानमन्त्री भएर थाकेका र अब तिनीहरूमा खासै नयाँ कुनै रस नभएका पात्र हुन्।
शेखर कोइरालामा पनि सम्पूर्ण कार्यकर्तालाई जोड्न सक्ने सामर्थ्य देखिँदैन। शेखर कोइराला पनि कोइरालावाद र गुटबन्दीमै रमाउने पात्र हुन् । शेखर कोइराला बाहेक अरुको त योग्यता, क्षमता र हैसियत नेपाली जनताले राम्रोसँग देखेकै र भोगेकै छन् ।
अहिलेको लोकतान्त्रिक परिपाटीमा कसैलाई बाउको वा परिवारको विरासतकै आधारमा चुनिनु अत्यन्तै गलत हुनेछ । नेपाली कांग्रेसलाई केही नेताहरूले विरासतकै आधारमा विचारविहीन दल बनाउँदा कांग्रेस आज थला परिरहेको छ ।
कांग्रेस केवल नेता बन्ने र बनाउने अनि गुट र उपगुटको गोलचक्करमा नराम्ररी फसेको छ । कांग्रेसलाई पुरानो पुस्ताले कब्जा गरिरहेका छन्।यी पुराना नेतामा देश बनाउने कुनै भिजन र इमान्दारिता नै छैन भन्ने कुरा बारम्बार प्रमाणित भएको छ ।
बाउ,दाइ,भाउजू र कुनै थरबाट चलिरहेको अहिलेको कांग्रेसलाई मुक्त नगरेसम्म कांग्रेस खास कांग्रेस बन्न सक्दैन । कांग्रेसमा नेपाल र नेपालीको समृद्धि भन्दा दाइभाउजू र देवरहरूको समृद्धिले स्थान पाइरहेको छ । अब यो अलोकतान्त्रिक जालोलाई तोड्नलाई नेपाली कांग्रेसको आगामी महाधिवेशनमा रुपान्तरण र पुस्तान्तरण मुद्दा उठाएका गगन थापालाई सभापतिमा विजय नै गराउनु पर्छ ।
सायद नेपाली कांग्रेस भित्रकै आँखाले निष्पक्ष रुपमा हेर्दा पनि अब कांग्रेसको लागि सभापति र प्रधानमन्त्रीको लागि उपयुक्त पात्र गगन थापा नै देखिन्छन् । अब कत्ति पनि ढिलो नगरी कांग्रेसका पुराना पुस्ताले गगनलाई शुभकामनासहित बाटो खोलिदिनु पर्छ र अगाडि सार्नुपर्छ । नयाँ पुस्ताले पनि एकपटक गगनको इच्छा शक्ति,सङ्कल्प,आत्मविश्वास,बोली, चाहनालाई साथ दिनुपर्छ ।
नेकपा एमालेको कुरा गर्दा त दललाई विचारविहीन बनाएर बावादमा परिणत गर्दा आज देशले अत्यन्तै दु:खद र जटिल अवस्था भोग्नुपरेको छ । एमालेभित्र त प्रधानमन्त्रीको रुपमा ओली वा उनको तहको विकल्पमा नव पुस्ताहरू खुल्न,देखिन,बोल्न,आँट्न पनि सक्दैनन् ।
एमालेको ठूलो जमातले फेरि पनि ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिरहेको छ । एमालेको ११ औँ महाधिवेशनमा केपी ओलीका विरुद्धमा ईश्वर पोखरेलले प्रतिस्पर्धा गरे पनि अध्यक्षमा तेस्रो पटक ओली नै सुनिश्चित देखिन्छन् । यद्यपि ईश्वर पोखरेल विजय भए पनि एमालेलाई समय सुहाउँदो गतिशील पार्टी बनाउन सक्दैनन् । केपी ओली र ईश्वर पोखरेल दुवैजना एमालेको अध्यक्षको लागि र प्रधानमन्त्रीको लागि पनि समयको माग अनुसारका पात्र होइनन् ।
एमालेका अधिकांश कार्यकर्ता यति अन्धभक्त भएका देखिन्छन् कि मानौँ केपी वा ईश्वर भनेकै देवता वा भगवान् हुन् भन्नेमा छन् । वास्तवमा अहिलेको परिस्थितिमा अध्यक्षका लागि केपी, ईश्वर वा विद्या नै भए पनि अनुपयुक्त पात्र हुन् । एमालेमा जबसम्म अर्को पिँढी हिम्मत गरेर आउन सक्दैन तबसम्म एमालेमा नयाँपन देख्न सकिन्न ।
एमालेहरू केपीकै कारण देशले आज कतिसम्मको मानवीय र भौतिक क्षति बेहोर्नु पर्यो, त्यसको समीक्षा गर्ने पक्षमा छैनन् । यद्यपि केपी ओली अबको प्रधानमन्त्री नहोलान् भन्न पनि सकिँदैन तर ओलीलाई फेरि प्रधानमन्त्री बनाउनु भनेको देशलाई अहिलेभन्दा झन् कमजोर र पूर्ण असफल देश बनाउनु नै हो ।
अब केपी ओलीले न पार्टी चलाउन सक्छन् न देश नै । उनमा देश बनाउने योग्यता छैन भन्ने कुरा त पटकपटक प्रधानमन्त्री भएरै थाहा पाइएको छ । उनी असफल प्रधानमन्त्री भनेर प्रमाणित भइसकेका पात्र हुन् ।
नेपाली कम्युनिष्ट पार्टीको कुरा गर्दा नेकपा माओवादी केन्द्रलाई निमिट्यान्न पारेर नेपाली कम्युनिष्ट पार्टीको नाम जुराएर प्रचण्डले बरबादै पारेका छन् । उनले माओवादी भन्ने पार्टीलाई नै विलय गराएर आफू र पार्टीको नै अस्तित्व नै समाप्त पारे ।
प्रचण्डको नेतृत्वमा रहेको माओवादीको सशस्त्र युद्धले थोरै राजनीतिक चेत त दियो तर देशले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपर्यो । प्रचण्डले सत्र हजार शहीदको रगतलाई अपमान गरी सत्ताको खेलमा रजगज गरेर कहिले कसको टाउको र पुच्छर बनेर माओवादी पार्टीलाई व्यक्तिगत कम्पनी जस्तो बनाई अनेक जालझेल र षडयन्त्र गरी पटकपटक प्रधानमन्त्री बनी देशलाई झन अस्थिर बनाई आफ्नो राजनीतिक अस्तित्व समेत समाप्त पारे ।
आज खुत्रुके पसल सरिका विभिन्न टाउका जोडेर नयाँ पार्टी बनाएर कतै अस्तित्व फर्किन्छ भन्नेमा छन् तर यो पार्टी देशको कुनै एक क्षेत्रमा जित्ने बलियो आधार छैन। त्यस्तो सशस्त्र युद्धबाट जन्मिएको पार्टी अनेक पटक सरकारको नेतृत्व गर्दा पनि देश र जनताले तात्त्विक गुणात्मक परिवर्तन पाउन सकेनन् । अन्तत: नेकपा माओवादी भन्ने पार्टी खोई खोलो-सुक्यो भन्ने अवस्थामा पुग्यो ।
अब नेपालमा आफूलाई वैकल्पिक दल भनेर घोषणा गरेको रास्वपालाई जनताले चौथो दल बनाउँदासमेत आफूलाई पुराना भन्दा वैकल्पिक दल बनाउन सकेन।रास्वपा कहिले माओवादी र कहिले एमालेको सत्ता स्वादको खेलमा सामेल भयो र सत्ताकै कारण डामियो ।
रास्वपा नयाँ विचारभन्दा पनि रवि लामिछाने केन्द्रित बन्यो । रवि भनेको रास्वपा र रास्वपा भनेको रवि बन्यो । रवि भन्दा बाहिर बसेर रास्वपाले राजनीति गर्न सकेन । सभापति नै रास्वपाको पर्याय बनेकोले उनी नै भ्रष्टाचार काण्डमा आरोपित भएपछि रास्वपा जनतासँग खुलेर जान सकेन र ऊ रविमै अल्मलिएर वैकल्पिक दलको जुन उचाई बनाउनु पर्थ्यो त्यो बनाउन सकेन ।
अब रविको अनुपस्थितमा रास्वपा चलायमान हुन नसक्ने देखिन्छ । वास्तवमा रवि देवता बन्दा वा बनाउँदा रास्वपा जनतामा भिज्न सकेन र पुराना दलहरूले पनि कतै रास्वपाकै कारण आफ्नो अस्तित्व नै समाप्त त हुने हैन भन्ने डरले रविमाथि प्रतिशोध साँधेको पनि देखियो । वास्तवमा रविकै कारण रास्वपा जन्मिएको, हुर्किएको र बढेको हो । अब रवि बाहिर ननिस्केसम्म रास्वपाको अवस्था कस्तो हुन्छ भनेर सहजै अनुमान गर्न सकिन्न । रास्वपामा रवि लामिछाने बाहेक अरुलाई प्रधानमन्त्रीको प्रत्यासी हुनसक्छ भनेर विश्वास गर्न सकिँदैन।
अहिले नेपाली राजनीतिमा वैकल्पिक भनेर देखिन खोजेका कुलमान घिसिङ र हर्क साम्पाङ्को नेतृत्वलाई पनि अहिले नै अबको प्रधानमन्त्रीमै विश्वास गर्न सकिने आधार छैन । नेपालको संविधान अनुसार प्रतिनिधि सभामा दुई चार सिट जितेर प्रधानमन्त्री बन्न सकिँदैन ।
कुनै स्थानीय तहमा वा क्षेत्रमा लोकप्रिय भएको पात्र हो भन्दैमा राजनीतिमा पनि सफल हुन सक्ला भनेर अहिले नै विश्वास गर्न सकिँदैन । राजनीतिमा केही समय बिकाउ भए पनि टिकाउ हुन निकै गार्हो हुन्छ । भीड र लोकप्रियताले राजनीतिमा स्थायित्व पाउन सक्दैन । पुराना सबै बेठीक र नयाँ नै अत्यन्तै ठीक भनेर अहिले नै आगामी कार्यकालको प्रधानमन्त्रीको रूपमा कुलमान घिसिङ वा हर्क साम्पाङलाई अगाडि सारिनु अन्त्यन्तै हतार हुने देखिन्छ।
यसरी नेपाली राजनीतिमा रहेका सम्भावित विभिन्न पात्रहरूको चर्चा गर्दा विकल्पहरूमध्ये विकल्प खोज्दा गगन थापा नै अबको प्रधानमन्त्रीको उपयुक्त पात्र देखिन्छन् । यसमा सबैभन्दा पहिले नेपाली कांग्रेसले नै निकै गम्भीर भएर सोच्नुपर्छ । गगन थापालाई प्रधानमन्त्री बनाउन सबैभन्दा पहिले कांग्रेसले सभापति पनि बनाउनु पर्छ । गगन थापालाई सभापति बनाउन कांग्रेसले किन शङ्का गर्नुपर्छ र ? गगन थापा कहिँबाट फुत्त निस्किएको वा लोकप्रियका नाममा राजनीतिमा देखा परेका पात्र त होइनन् ।
अब गगन थापालाई सभापति बनाउन कहिलेसम्म लाइनमा पर्खनु पर्छ र ? गगन थापा अझै पनि के आधारमा अपरिपक्व र अविश्वासयोग्य छन् र ? नेपाली कांग्रेसले भदौ २३ र २४ को आन्दोलन/विद्रोह र विध्वंसलाई निकै सूक्ष्म ढंगले अध्ययन गर्नुपर्छ ।
भदौ २४ गतेको विध्वंसमा दलगत रुपमा हेर्दा सबैभन्दा ठूलो क्षति नेपाली कांग्रेसले बेहोर्नुपरेको थियो । नेपाली कांग्रेसले नेपाली जनताका माग,आशा र आक्रोशका साथै जेन-जी आन्दोलनलाई फेरि पनि नजर अन्दाज गरिनु हुन्न ।
महाधिवेशनमा जेन-जी आन्दोलनका मुद्दालाई नजर अन्दाज गरेर पार्टीलाई पुस्तान्तरण गर्न सकेन भने अर्को ठूलो क्षति नहोला भन्न सकिन्न । कांग्रेसका पुराना पुस्ताले परम्परित ढाँचा र शैली त्याग्नुपर्छ।
म,हामी र हाम्रो गुटभन्दा अरु कोही आउन सक्दैनन् भन्ने अहंकार र घमण्ड त्याग्नुपर्छ र नयाँलाई खुरुक्क बाटो खोलिदिनु पर्छ । गगन थापा भर्खरको केटो हो भनेर उनको योगदानलाई अवमूल्यन गर्नु हुँदैन । गगन अब केटो होइन,नेपाली कांग्रेसको महामन्त्री भइसकेको पात्र हो भनेर बुझ्नुपर्छ । नेपालमा बहुदलीय प्रजातन्त्रको पुनःबहालीदेखि गणतन्त्रको स्थापना हुनसम्मको विभिन्न आन्दोलनमा गगन थापाको जिम्मेवार पूर्ण योगदान रहेको छ । गगन थापा पटकपटक सांसददेखि एकपटक छोटो कार्यकालका लागि मन्त्रीसम्म भएका व्यक्ति हुन् ।
कांग्रेसले उनी माथि अनेक प्रश्न उठाएर वा न उठाई अविश्वास गरेर सभापति नबाउनु पर्ने खास कारण केही छैनन् । अहिले नेपाली कांग्रेसले गगन थापालाई महाधिवेशनबाट सभापति बनाउने र प्रतिनिधिसभाबाट प्रधानमन्त्री बनाउने हो भने पार्टी पनि बन्ने र देश पनि बन्ने हुनसक्छ ।
नेपालका राजनीतिक नेतृत्वहरूमध्ये सबैभन्दा पहिले गगन थापाले नै नेपालको पछिल्लो जेन-जी आन्दोलन/विद्रोह हुनुको कारण आफ्नो दल र कहिँकतै आफ्नो कमजोरी रहेको स्विकारेर माफी मागेका हुन् ।
गगन थापाले नेपाली जनताको आक्रोशलाई सम्बोधन गर्न नसक्दा भदौ २४ को विध्वंस/वितण्डाको अवस्था भोग्नुपरेको पनि स्वीकारेको हुनाले एउटा राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण उनमा देखिन्छ । जेन-जीहरू अझै पनि संगठित हुन नसक्नु,च्याउ उम्रेसरि नयाँ दलहरू खोलिनु,ओलीको दम्भ र अंहकार यथावत् नै देखिनुले फागुन २१ पछिको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हुने देखिन्छ ।
अहिलेको संविधान अनुसार कांग्रेसले नै गगन थापालाई अगाडि सारेन भने अरु सबैले सारे पनि वा जतिसुकै गुणगान गाए पनि गगन थापा सभापति र प्रधानमन्त्री हुन सक्दैनन् । अहिले कांग्रेसले पुराना वा नयाँ अनि आफ्ना गुट र उपगुटका सारा कुरा बिर्सेर गगन थापालाई पार्टीको सभापति बनाउनु पर्छ र आगामी निर्वाचनमा उनैलाई प्रधानमन्त्रीको उम्मेदवार पनि बनाएर चुनावी मैदानमा उतार्नु पर्छ।नेपालको वर्तमान परिवेशलाई बुझ्ने,विश्लेषण गर्ने र निकास निकाल्न सक्ने एउटा सम्भावित र आशालाग्दो राजनीतिक छवि र इतिहास बनाएको पात्र गगन थापा नै हुन सक्छन् ।
नेपाली कांग्रेसले कुनै शङ्कोच नराखी गगनलाई अगाडि सारोस् । अबको कांग्रेसको सभापति र नेपालको प्रधानमन्त्रीको लागि गगन थापालाई देवता नै बनाएर वा अन्धभक्त नै भएर हैन,आशङ्कासहित आशा र विश्वास चाहिँ गरौँ ।