arrow

कांग्रेस महाधिवेशन युवाका लागि अवसर

logo
ईश्वर पाण्डेय, 
प्रकाशित २०८२ मंसिर २४ बुधबार
ishor-panday-article-24-08-082.jpg

नेपालको पुरानो लोकतान्त्रिक पार्टी  एवं विघटित संसदमा सबैभन्दा ठूलो दल  नेपाली कांग्रेस १५ औँ महाधिवेशनतर्फ अग्रसर हुँदै गर्दा यसको इतिहास, वैचारिक दिशा निर्देशन, मूल्य, मान्यता तथा हालको जेन-जी आन्दोलनका माग र उपलब्धि फेरि बहसको केन्द्रमा आएको छ ।

नीति तथा सिद्धान्त विपरीत सत्ता केन्द्रित राजनीति, पारदर्शिता र जवाफदेहिताको कमी, ठूला अनियमितताका घटनामा दलहरुको संलग्नता, भ्रष्टाचार तथा अपराध नियन्त्रण गर्ने संस्थाहरुमा बढ्दो दलीय पकड, मेरिटोक्रेसीको अभाव, अवसर र नेतृत्वमा नातावाद एवं तरमारा वर्गको बढ्दो दबदबा, अभिव्यक्ति स्वतन्त्रताको रुपमा रहेको सामाजिक संजाल प्रयोगमा बन्देज लगायतको कारणले  जेन–जी पुस्ता आन्दोलन गर्न बाध्य भयो । यसै आन्दोलनको कारणबाट नेपाली  कांग्रेस समयमै महाधिवेशन गरी संगठनात्मक रूपान्तरण र नेतृत्व पुस्तान्तरणका सम्भावनाहरु प्रकट  भइरहेका छन् ।

नेपाली कांग्रेस २००७ सालको ऐतिहासिक क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन र ०६२/६३ को दोस्रो जनआन्दोलनसम्म नेपालको लोकतान्त्रिक यात्राको प्रमुख नेतृत्वकर्ता रहँदै आएको छ। पार्टीका संस्थापक नेता बीपी कोइरालाले प्रतिपादन गरेको "प्रजातान्त्रिक समाजवाद" राजनीतिक स्वतन्त्रता, आर्थिक समानता, सामाजिक न्याय र राष्ट्रिय एकताको मिश्रित संरचना आज पनि कांग्रेसको मूल वैचारिक मेरुदण्ड मानिन्छ ।

यसैबीच पछिल्ला वर्षहरूमा सामाजिक सञ्चार माध्यममा सक्रिय युवा पुस्ताले चलाइरहेको जेन–जी आन्दोलनले पारम्परिक राजनीतिक दलहरूलाई  जवाफदेहिता र पारदर्शिताको माग गर्दै दवाव दिन थालेको छ। अहिले भएको जेन-जी आन्दोलन कुनै दलविशेष विरोध नभई प्रवृत्तिको आलोचना हो, जसले भ्रष्टाचार, अक्षम प्रशासन र पुरानो नेतृत्व शैलीप्रति असन्तुष्टि प्रकट गरेको छ ।

नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनमा यही युवा चेतना र राजनीतिक अपेक्षा महत्त्वपूर्ण एजेन्डाका रूपमा उभिन सक्ने देखिएको छ। पार्टी भित्र नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र युवालाई जिम्मेवारीपूर्ण भूमिकामा लैजाने विषयमा तीव्र बहस चलिरहेको छ ।

अहिलेको परिस्थितिले आगामी महाधिवेशन युवाका लागि दुवै प्रकारका परिस्थिति  "अवसर र चुनौती" बोकेर आएको छ ।

युवाका लागि अवसरः

१, जेन-जी आन्दोलन पछि पार्टी संरचनामा नयाँ पुस्तालाई अघि ल्याउने वातावरण स्वरुप नयाँ क्रियाशिल वितरणमा १८- ३० वर्षका युवालाई विशेष प्राथमिकता दिएको छ ।

२, युवाहरु प्रविधिसँग अभ्यस्त भैसकेका छ्न् ।  अहिलेको  डिजिटल युगमा सामाजिक सन्जालको  प्रयोगले आफ्ना विचारहरु एकै पटक समय, श्रोत र साधनको कम प्रयोगले पनि सम्बन्धित ठाउँमा पुर्‍याउन सक्छ्न् ।

३, जनताले जवाफदेहिता र सुशासनका लागि राज्यका हरेक तह र तप्कामा युवालाई अगाडि बढाउनुपर्ने आवाज जेन  जी आन्दोलन पछि झन बढाइदिएका छ्न् । 

४, एउटा घर चलाउन सामान्यतया मासिक ४०-५० हजारको खर्च छ । त्यसका लागि आर्थिक उपार्जनमा गर्न बढी समय दिनुपर्ने अवस्था आए पनि राजनीतिलाई होल टाइमर होइन पार्ट टाइमर बनाउनु पर्छ भन्ने भावनाको विकास भएको छ । 

५, सबैभन्दा महत्त्वपूर्ण विषय करिब ७ दशक पहिले स्थापित गरिएको हाम्रो आदर्श  प्रजातान्त्रिक समाजवादको आधुनिक पुनर्व्याख्यामा गरि त्यसलाई लागू गराउन युवाहरुले समय सापेक्ष भूमिका खेल्न सक्छन् ।

६, वडामा क्रियाशील सदस्यता नवीकरणको शतप्रतिशत नयाँ सदस्य बनाउने निर्णयले पार्टीमा युवाहरुलाई सहज प्रवेशको अवसर दिएको छ ।

युवाका लागि चुनौतीः

१. अवसर र लाभमा रमाइरहेको वर्ग युवाहरुको हरेक तहमा जबर्जस्त नेतृत्वको लागि गरिने प्रयासले  पार्टी भित्रै जरो गाडेर बसेको  पुरानो संरचनाले प्रतिरोध गर्ने देखिन्छ  ।

२. युवाहरु करिअर बिल्डिङको कारण, घर-परिवार, आयश्रोत बढाउने काम बढी समय दिनुपर्ने भएकाले संगठनात्मक सहभागितामा समय अभाव हुन सक्छ ।

३. नयाँ नयाँ विचार, योजनालाई कार्यन्वयन गर्न पुरानो, मानसिकता, संगठन, श्रोत, समय र साधनको कमिले विचारलाई व्यवहारमा परिणत गर्न सजिलो चाहिँ पक्कै छैन ।

४. युवाको उमेर, परिवार व्यवस्थापन, वृतिविकास, आर्थिक उपार्जनमा बढी समय व्यतित गर्नुपर्ने हुदाँ संगठनात्मक उद्देश्य पूरा गर्न सफल हुदैनन कि भन्ने अविश्वास रहेको छ ।

५. आसन्न १५ औं महाधिवेशन सम्पन्न गर्न ल्याइएको रकेट जस्तो तालिकाले उम्मेदवारी दिने युवाहरु समय अभावले आफ्ना भावना र विचार सबै मतदाताकोमा  पुर्‍याउन नसकिने होकि भने त्रासमा छ्न् ।

 महाधिवेशन नजिकिँदै गर्दा विभिन्न तहका युवाहरू संगठनभित्र सक्रिय बन्दै गएको, भर्खरै युवा पुस्तामा प्रवेश गरेको युवा समूह पनि क्रियाशिल सदस्यता लिन तम्तयार देखिएको हुँदा  कांग्रेसको भविष्य नेतृत्व, वैचारिक दिशा र संगठनात्मक संरचना कता मोडिने भन्ने विषयमा पार्टी भित्र तथा  नेपाली राजनीतिक वृत्तको समेत यतिबेला ध्यान केन्द्रित भएको छ।

निष्कर्षः

नेपाली  कांग्रेसको अधिवेशनबाट आउने नेतृत्व  युवा भएर पुग्दैन ।  संघ, प्रदेश तथा पालिकाको नेतृत्वमा युवा ल्याउन सके  युवाको ऊर्जा, दक्षता र नयाँ सोचलाई आत्मसात् गरी पार्टीलाई  पुनः जनमानसमा प्रभावकारी निर्विकल्प प्रमुख शक्ति बनेर उदाउने अनि  जनतामा राजनीतिप्रति देखिएको नैराश्यता हटाउन तथा हालैको जेन-जी आन्दोलनको मर्मलाई पनि न्याय दिन  सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ