जनकपुर। सप्ताहव्यापी रूपमा मनाइने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै जनकपुरधामका विद्यालयहरू तीन दिन बन्द हुने भएका छन्। महोत्सवको अवसरमा आयोजित मेला भव्य बनाउन आजदेखि तीन दिनसम्मका लागि विद्यालयहरू बन्द हुने भएका हुन्।
संस्थागत विद्यालयहरू आबद्ध प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले संयुक्त रूपमा सूचना जारी गर्दै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको जनाएको छ। सूचनामा विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ।
विवाहपञ्चमी महोत्सवको धार्मिक संवेदनशीलतालाई ध्यानमा राख्दै आजदेखि तीन दिनसम्म जनकपुरधामभरि माछा–मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि १० गते राति १२ बजेसम्मका लागि माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको छ।
कसैले आदेश विपरीत माछा, मासु र मदिरा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम सजाय हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।