वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्छ- ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
960
Shares
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन्।
शनिवार पार्टीद्वारा काठमाडौँमा आयोजित जनप्रदर्शन तथा जनसभामा बोल्दै उनले सो दाबी गरेका हुन्। अध्यक्ष ओलीले अदालतले कुनै पनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहऱ्याउन नसक्ने जिकिर समेत गरे।
अध्यक्ष ओलीले वर्तमान सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनेको उल्लेख गर्दै यस्तो सरकारलाई संवैधानिक ठहऱ्याउन सक्ने अवस्था नरहेको बताए। उनले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाए।
अध्यक्ष ओलीले भने: “देशमा संविधान अनुसार नबनेको सरकार छ। संविधान मिचेर बनाएको सरकार छ। लोकतान्त्रिक विधि, लोकतान्त्रिक प्रक्रिया, त्यसबाट नबनेको सरकार छ। यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक, कृत्रिम ढंगले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ।”
“यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट संवैधानिक परीक्षण हुनै पर्दछ। संविधानले कुनै पनि हालतमा यो सरकारलाई उचित ठहऱ्याउने ठाउँ नै छैन। कोर्टले यसलाई संवैधानिक ठहऱ्याउनै सक्दैन।” अन्तमा, अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत बताए।