रामजानकी विवाहपञ्चमीको दोस्रो दिन 'फूलबारी लीला' [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
824
Shares
काठमाडौँ। जनकपुरधाममा जारी सात दिवसीय रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज (शुक्रबार) फूलबारी लीला मनाइएको छ।
महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने आज दोस्रो दिन भगवान् राम र लक्ष्मणको प्रतिकका रूपमा रहेका बालकलाई जानकी मन्दिर नजिकै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रूपमा रहेकी बालिकासँग भेट गराई फूलबारी लीला सम्पन्न गरिएको हो।
वाल्मीकि रामायणमा उल्लेख भए अनुसार, त्रेता युगमा राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँगै फूल टिप्न गएकी सीतासँग पहिलो पटक भेट भएको थियो। सोही घटनाको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लीला गर्ने परम्परा छ।
मंसिर ४ गतेबाट सुरु भएको यो महोत्सव मंसिर १० गतेसम्म चल्नेछ। आगामी कार्यक्रमहरूमा मंसिर ६ गते धनुष यज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयम्बर तथा विवाह र १० गते रामकलेवा विधिसँगै महोत्सवको समापन हुनेछ।