पार्टी एकीकरण किन ? यसो भन्छन् नारायणकाजी [भिडियो]
'जेन-जीका मुद्दा' सम्बोधनका लागि नौ दलको एकीकरण अभियानको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
1.2k
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले जेन-जीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढ्नका लागि आफूहरूले पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताएका छन्।
मङ्गलबार काठमाडौंमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उनले जेन-जी आन्दोलनको मुद्दालाई आत्मासात गरेर उनीहरूलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिष्ट पार्टीहरूबीच एकीकरणको काम गर्नुपरेको स्पष्ट पारे। उनले नेकपा एससहितका नौ वटा कम्युनिष्ट पार्टीहरूको बीचको यो एकीकरण नेपालको कम्युनिष्ट पार्टीहरूको एकीकरणको कोशेढुंगा सावित हुने दाबीसमेत गरे। नेता श्रेष्ठले राष्ट्रियता, सुशासन, समृद्धि र समाजवादीको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिष्ट शक्तिहरूलाई एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको जिकिर गरे।
उनले यस नयाँ पहललाई अगाडि बढाउँदा तीन वटा कुरामा आफ्नो ध्यान रहेको बताए। पहिलो, यो एकीकरण समग्र नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक रूपान्तरण र पुनर्गठन प्रक्रियाको कोशेढुंगा वा प्रस्थान विन्दु हुनुपर्दछ। यसमा देशका सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरू जो राष्ट्रिय स्वाधीनता, सुशासन र समृद्धि, सामाजिक न्यायसहितको समाजवादको आधारको पक्षमा आउँछन्, उनीहरूलाई एउटै केन्द्रमा सामेल गर्ने उद्देश्य रहेको छ।
दोस्रो, यो एकता 'केही मान्छे थुपार्नका लागि' नभई रणनीतिक लक्ष्य, आदर्श, विचार, सिद्धान्त, राजनीति, विधि, पद्धति, संस्थागतता, सामूहिकता, सर्वहारा प्रगतिशील संस्कृति र जनमुखिता तथा वर्गमुखितालाई केन्द्रविन्दुमा राखेर सिंगो पार्टी र कम्युनिष्ट आन्दोलनलाई रुपान्तरणसहित अघि बढाउनका लागि गरिएको हो।
तेस्रो र महत्त्वपूर्ण कुरा, उनले जेन-जी आन्दोलनका मुद्दाहरूलाई आत्मसात गरेर यसमा प्रभावित पार्ने र जेन-जीसहितका युवा पुस्ताहरूलाई पनि पार्टी पुनर्निर्माणको प्रक्रियामा सामेल गर्ने उद्देश्यसहित नयाँ एकीकृत पार्टी पुनर्निर्माणको अगाडि बढिरहेको बताए। उनले नेपालको समृद्धिका लागि सबै कम्युनिष्ट शक्तिहरूलाई एकतावद्ध गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए।