किसुनजीको अनुयायी बताएर खड्काले भने – विधानअनुसार विशेष महाधिवेशन हुन्छ
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरबारे पहिलो पटक कार्यवाहक सभापति खड्काले गरे छलफल, गराए विश्वस्त
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
6.3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनको प्रस्तावका विषयमा प्रतिनिधिहरुसँग शनिबार पहिलो पटक छलफल गरेका छन् ।
गत असोज २९ गते पार्टी कार्यालयमा दर्ता गरेको विशेष महाधिवेशनको प्रस्तावमाथि छलफल गर्न पहिलो पटक कार्यवाहक सभापति खड्काले हस्ताक्षरकर्ता महाधिवेशन प्रस्ताव गर्ने नेताहरुलाई बोलाएका हुन् ।
महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यका अनुसार नेता गुरुराज घिमिरेको नेतृत्वमा गएको टोलीसँग खड्काले छलफल गरेका हुन् ।
उनले भने, ‘गुरुराज घिमिरेको नेतृत्वमा म, देवराज चालिसेसहित सात जनाको टोली गएर कार्यवाहक सभापतिज्यूलाई भेट्यौँ । उहाँले विधानको व्यवस्थाअनुसार अगाडि बढ्छु भनेर विश्वस्त गराउनु भएको छ ।’
आचार्यले छलफल सकारात्मक भएको भन्दै आफूहरु समयमै विशेष महाधिवेशन गरेर पार्टी अगाडि बढ्नेमा विश्वस्त रहेको बताए ।
उनले भने, ‘चार बुँदे ध्यानाकर्षणसहित माग पेश गरिसकेका छौँ । उहाँले पार्टीको विधानको व्यवस्थाअुनसार म अगाडि बढ्छु भन्नुभएको छ । हामी २४८८ जना हस्ताक्षरकर्ताका तर्फबाट महाधिवेशन प्रतिनिधिहरुका सदस्यका नाताले बोलाउनु भयो । त्यसबारेमा जिज्ञासा, चासो र चिन्ता राख्नु भयो यो पहिलो सकारात्मक विषय भयो ।’
उनले यो सबै पार्टी मजबुद बनाउने विषय भएकाले समयमै विशेष महाधिवेशनको आह्वान हुन्छ भन्नेमा विश्वस्त रहेको पनि बताए ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई आफू दबाबमा रहेकाले प्रतिनिधि सभाको निर्वाचनपछिमात्र महाधिवेशन गर्न सकिने बताएर जारी केन्द्रीय कार्यसमिति बैठकको माहोल बिगारेका कार्यवाहक सभापति खड्काले शनिबार विशेष महाधिवेशन माग्ने प्रतिनिधिहरुसँग छलफल गरेर माहोल सुधार्ने पै्रयास गरिरहेका छन् ।
उनले महाधिवेशन प्रतिनिधिहरुसँग ‘म पार्टीको विधानको व्यवस्थाभित्र रहेर आवश्यक निर्णय गर्छु भनी थितिमा चल्ने संकेत दिएका हुन् ।
उनले महाधिवेशन प्रतिनिधिहरुलाई विश्वस्त दिलाउँदै आफू कृष्णप्रसाद भट्टराई (किशुनजी) को अनुयायी भएकाले निष्ठा र आदर्शको राजनीतिबाट पछि नहट्ने बताएका छन् ।
‘म पार्टीको विधानको व्यवस्थाभित्र रहेर आवश्यक निर्णय गर्छु । म कृष्णप्रसाद भट्टराईको अनुयायी पनि हुँ । म निष्ठा र आदर्शको राजनीति गर्दै आएको मान्छे हुँ’ भनेर हामीलाई आश्वस्त पार्नुभएको छ । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ, आचार्यले भने ।
शुक्रबार स्थगित भएको केन्द्रीय कार्यसमिति बैठक आइतबार पुनः बस्दैछ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पछिल्लो राजनीतिक अवस्थाअनुसार पार्टीलाई पुनःनिर्माण गर्नुपर्ने भन्दै विशेष महाधिवेशनको माग गरेका हुन् ।
०७८ साल मंसिरमा नियमित महाधिवेशन गरेको कांग्रेसको आगामी मंसिरमै नियमित महाधिवेशन गर्ने समय हो । तर विभिन्न चलखेलका कारण समयमा नियमित महाधिवेशन हुने सम्भावना नभएसँगै बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन गरेरै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।