काठमाडौँ। बुधबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा जारी रहँदा जनजीवन कष्टकर बनेको छ। बिहीबार बिहानैदेखि वर्षा नरोकिँदा आम नागरिकका दैनिक काम र कार्यालय जाने कार्य प्रभावित भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव रहेको छ। यसका साथै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले देशभरको मौसम प्रभावित भएको हो।
विभागले आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा अधिकांश बदली रहने र तराई भू–भागमा सामान्य बदली रहने जनाएको छ। कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षा को सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने हल्का वर्षा को सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात को सम्भावना पनि रहेको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली रही तराई भू–भागमा अधिकांश बदली रहनेछ। राति कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानरूमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात को पनि सम्भावना रहेको विभागले चेतावनी दिएको छ।