माओवादी केन्द्रको पार्टी कार्यालय पुनर्निर्माण धमाधम [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
995
Shares
काठमाडौँ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा राजनीतिक दलका पार्टी कार्यालय आन्दोलनकारीको मुख्य निशानामा परे । आन्दोलनकारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरे ।
आगजानीमा पार्टीका कार्यालयमा भएका कागजात नष्ट भए भने डिजिटल उपकरण लुटिए । आगजानीले भवन जीर्ण बनेका छन् । हाल क्षतिग्रस्त पार्टी कार्यालयमा राजनीतिक दलहरूले सरसफाई गरेर आफ्ना नियमित काम गर्न थालेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रले पार्टीको पुनर्निर्माणको कामसमेत थालनी गरिसकेको छ । राजनीतिक दलहरूले हाल भवन सुरक्षा तथा इन्जिनियरिङ मूल्याङ्कन, डिजिटल र प्रशासनिक डाटाको पुनःसंरचना, आकस्मिक रूपमा उपलब्ध स्रोतबाट कार्यालय सञ्चालन निरन्तर राख्ने, स्थायी पुनर्निर्माणका लागि योजना र स्रोत व्यवस्थापनका कार्यलाई प्राथामिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय मुख्यसचिव गणेशमान पुनले कार्यालय क्षतिपश्चात् सरसफाई गरेर कार्यालय पुनः सञ्चालनमा ल्याइएको बताए ।
उनले हाल झ्याल-ढोका परिवर्तन गर्ने, रंगरोगन गर्नेलगायतका काम भइरहेको जानकारी दिए । निर्माणाधीन भवनबाट नै पार्टीको पदाधिकारी तथा स्थायी समिति बैठक सञ्चालन गरिरहेको उनको भनाइ छ।
उनका अनुसार जनवर्गीय संगठनको सहयोग र केन्द्रीय कार्यालयको संयोजनमा मर्मत कार्य भइरहेको छ । उनले पार्टीका डिजिटल डाटा, सदस्यता प्रणाली, वेवसाइट तथा मोबाइल एपलाई अपग्रेड गर्ने कार्य एउटा कोठाबाट भइरहेको जानकारी दिए।
उनले भने, ‘कार्यालयलाई हामीले अभियानकै रुपमा रंगरोगन गर्ने, जहाँजहाँ जलेको छ, त्यहाँ बनाउने । यहाँ हामी जहाँ बसेका छौँ, यो सबै जलेको ठाउँ हो । यसलाई हामीले झ्याल ढोका चेन्ज गरेर, रंगरोगन गरेर अब यो निर्माणधीन नै छ । यसमा केही कोठाहरू, रिसेप्सनलगायत बन्दैछ । मिटिङ हललाई पनि हामीले यहीँबाट सञ्चालन गरेका छौँ ।’
मुख्यसचिव पुनले आगजनी तथा तोडफोडबाट पाँच करोड रुपैयाँ बराबरको क्षति भएको बताए । उनले क्षतिग्रस्त भवनलाई रेट्रोफिट डिजाइनमार्फत नयाँ ढङ्गले पुनर्निर्माण गर्ने जानकारी दिए ।
उनले कार्यलयको सबैभन्दा तल्लो तला, आवास क्षेत्र, ग्राउण्ड फ्लोर र पहिलो तला निकै क्षति भएको जानकारी दिए । रेट्रोफेटको डिजाइनको काम इन्जिनियर टोलीले गरिरहेकोले छिट्टै पुनर्निर्माण सम्पन्न गर्ने उनले बताए ।
उनले भने, ‘कार्यालयको सवभन्दा तल्लो तला, आवास एरिया, ग्राउण्ड फ्लोर, पहिलो तला निकै क्षति भएको छ । रेट्रोफेटको डिजाइन न्जिनियर टोलीले गरिरहेको छ । यसलाई हामीले पुनर्निर्माण गर्दै यो कार्यालयलाई नयाँ ढंगले कसरी लान सकिन्छ, कसरी बनाउन सकिन्छ भन्ने बारेमा अबको पार्टीको सचिवालयको बैठकबाट निर्णय गरेर त्यसलाई हामी अझै अघि बढाउँछौँ ।’