भ्रष्टाचार छानबिन गरी दोषी देखिए प्रचण्डलाई पनि जेल हाल्न माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
1k
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट जेन–जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले आफ्नो पार्टीभित्र रहेको भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गर्दै सरकारले छानबिन गर्नुपर्ने बताएकी हुन्। छानबिनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पनि जेल हाल्नुपर्ने तिमिल्सिनाको भनाइ छ।
उनले भनिन्, "माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन, भन्दिनँ म। भ्रष्टाचार छ, त्यो भ्रष्टाचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरूलाई दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि तिमीहरूले जेल हाल्न सक्छौ, यदि उहाँ दोषी देखिनुहुन्छ भने।"
रेडफोर्सले भ्रष्टाचार विरुद्ध शंखनाद गरेर आवाज उठाउने र देशमा कुनै पनि भ्रष्टाचार नसहने तिमिल्सिनाले बताइन्। उनले यो देश अब जेन–जी रेडफोर्सले मात्रै बनाउने दाबी गर्दै जेन–जी रेडफोर्स माओवादीको मात्रै नभएको र नेपालभरिका वामपन्थी तथा कम्युनिष्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गरेकी छन्।
जेन–जी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व खुला प्रतिस्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यक्तिको सम्पत्तिको छानबिन, सहकारी ठगीमा संलग्नलाई कारबाही र बन्द उद्योग कलकारखाना सञ्चालन गर्नुपर्नेलगायतका मागहरू पनि अगाडि सारेको छ।