मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुईदेखि तीन दिन लाग्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
1.2k
Shares
चितवन। इच्छाकामनाको तुइनखोलामा बुधबार दिउँसो खसेको ठूलो पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अनिश्चितकालका लागि अवरुद्ध भएको छ। सडक विभागका अनुसार, पहिरो निकै ठूलो भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुईदेखि तीन दिन लाग्न सक्छ।
बुधबार बिहान साढे ६ बजेदेखि चारवटा डोजर प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिए पनि वर्षाका कारण काम रोकिएको छ। राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ र पोखराबाट नारायणगढतर्फ जाने तथा फर्कने सवारीसाधन र यात्रुहरू सडकमै अलपत्र परेका छन्।
स्थानीय प्रशासन र सडक विभागले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन्। साना गाडीका लागि चितवनको जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु निस्कने बाटो प्रयोग गर्न सकिनेछ।
त्यसैगरी, त्रिभुवन राजपथ हुँदै धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने सडक पनि विकल्पका रूपमा प्रयोग गर्न भनिएको छ। हेटौँडाबाट साना सवारीसाधनले भैँसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर पनि यात्रा गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ।