लोकतन्त्र भनेको जनताको आवाज सुन्ने प्रणाली हो : प्रधानमन्त्री कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
938
Shares
काठमाडौं। आठौँ संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा आज सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरियो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरू लगायत उच्च सरकारी अधिकारीहरू र आम नागरिकको उपस्थिति थियो।
समारोहको मुख्य आकर्षणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्काउटले गरेको मार्च पास थियो। साथै, विभिन्न सांस्कृतिक झाँकी, लोकनृत्य र बालबालिकाको परेडले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। समारोहको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई एकताबद्ध गरेको बताए। उनले संविधानको मर्म र भावनालाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरे। यस अवसरमा, नेपाली सेनाको हेलिकप्टरले आकाशबाट राष्ट्रिय झण्डा र लोगो प्रदर्शन गर्दै पुष्पवृष्टि गरेको थियो।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताइन्।
उनले जेन-जी पुस्ताको आन्दोलनले सङ्घीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, सुशासन लगायतका लोकतान्त्रिक मूल्य-मान्यतामा खरो उत्रिन नसकेको देखाएको बताइन्। प्रधानमन्त्री कार्कीले युवा पुस्ताले उठाएका रोजगारी, गुणस्तरीय जीवन, पारदर्शिता र सुशासनजस्ता मुद्दाहरू सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको उल्लेख गरिन्।
उनले आफू कुनै शासकीय आकांक्षा वा पदको लालसाले प्रधानमन्त्री नबनेको स्पष्ट पारिन्। देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधमा यो जिम्मेवारी लिएको बताउँदै उनले नेपालको संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य रहेको बताइन्। उनी जनअपेक्षाअनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँछिन्।