arrow

पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई पक्राउ गर्न माग गर्दै धर्ना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
journalist-janakpur.jpg

जनकपुर। जनकपुरमा पत्रकारमाथि आक्रमण गरेको आरोपमा वकिलहरूलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा आइतबार जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिँदै उनीहरूले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

गत साउन २७ गते पत्रकार महासंघको प्रादेशिक भवन निर्माणका लागि गुठी संस्थानबाट लिजमा लिइएको जग्गाको संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित केही वकिलहरूले पत्रकारमाथि सांघातिक आक्रमण गरेका थिए। यस आक्रमणबाट महासंघका प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो लगायत पाँच जना पत्रकार घाइते भएका थिए।

पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले आक्रमणकारीविरुद्ध किटानी जाहेरी दिँदासमेत प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत ध्यानाकर्षण गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको आरोप लगाए। यदि मागहरू पूरा नभए प्रदेशभर आन्दोलन विस्तार गर्ने उनले चेतावनी दिए।

महासंघ मधेस प्रदेश कमिटीका अध्यक्ष श्याम बन्जाराले शान्तिपूर्ण धर्नाको माध्यमबाट स्थानीय प्रशासनलाई दबाब दिइएको र कारबाही नभए देशभर आन्दोलनको शैली परिवर्तन गरेर विरोध गर्ने बताए। आन्दोलनमा सहभागी पत्रकारहरूले 'आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर', 'प्रेस स्वतन्त्रताको रक्षा गर' र 'पत्रकारहरूलाई सुरक्षा देऊ' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ