खुला सिमानाका कारण वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा चुनौती
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
526
Shares
वीरगञ्ज (पर्सा)। नेपाल-भारतबीचको खुला सिमानाकाबाट हुने अवैध चोरीपैठारी र निकासीका कारण वीरगञ्जका दुई मुख्य भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा आफ्नो संशोधित राजस्व लक्ष्य पनि पूरा गर्न सकेनन्। भन्सार विभागले अघिल्लो वर्षको तुलनामा लक्ष्य घटाए पनि तोकिएको राजस्व संकलन गर्न सफल नभएका हुन्।
आर्थिक वर्ष २०८०/८१ मा वीरगञ्ज भन्सार कार्यालयलाई रु. २ खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो। तर, कार्यालयले लक्ष्यको ८०.३५ प्रतिशत अर्थात् रु. १ खर्ब ७५ अर्ब ९३ करोड मात्र संकलन गर्न सफल भयो। यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष राजस्व संकलनमा करिब १२ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, खुला सिमानाका र दुई देशका जनताबीचको 'रोटीबेटी' सम्बन्धका कारण अवैध चोरीपैठारी नियन्त्रण गर्न चुनौतीपूर्ण छ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि आफ्नो लक्ष्य पूरा गर्न सकेन। विभागले गत वर्षको लागि रु. ६० अर्ब ४ करोड ८७ लाख को लक्ष्य दिएकोमा कार्यालयले रु. ४९ अर्ब ८२ करोड मात्र राजस्व संकलन गरेको छ। समग्रमा, आर्थिक गतिविधिमा केही सुधार आए पनि अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा नफर्केकाले लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको भन्सार अधिकारीहरूको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलका तथ्याङ्कहरूले पनि अवैध चोरीपैठारीको पुष्टि गर्छन्। गत आर्थिक वर्षमा यी दुई निकायले मात्र रु. १ अर्बभन्दा बढी मूल्यका भन्सार छलीका सामानहरू बरामद गरेका छन्। यसमा बिलबिजक नभएका मालवाहक सवारीसाधन, सवारीसाधनका पार्टपुर्जा, इलेक्ट्रोनिक्स, लत्ताकपडा र खाद्यान्न लगायतका सामानहरू छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले राज्यको गलत नीति र वैधभन्दा अवैध कारोबारले प्रोत्साहन पाएका कारण पनि राजस्व लक्ष्य पूरा हुन नसकेको बताए।