भन्सार जाँचपास भएका वस्तुको पुनः जाँच गर्ने कार्यविधि जारी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
712
Shares
काठमाडौँ । भन्सार विभागले भन्सार जाँचपास भइसकेका वस्तुहरूको पुनः जाँच तथा अनुसन्धानका लागि नयाँ कार्यविधि जारी गरेको छ। यस कार्यविधिले भन्सार ऐनमा भएको व्यवस्थाअनुसार जाँचपास भएका वस्तुहरूलाई नियन्त्रणमा लिई छानबिन गर्ने प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउनेछ।
किन गरिन्छ पुनः जाँच?
कार्यविधिअनुसार, कुनै निकासीकर्ता वा पैठारीकर्ताले निम्न कार्यहरू गरेमा भन्सार अधिकृतले जाँचपास भइसकेको वस्तुलाई पुनः नियन्त्रणमा लिई छानबिन गर्न सक्छ:
महशुल छली गर्न वस्तुको प्रकृति, नाप, वर्गीकरण, परिमाण वा उत्पत्तिको देश जस्ता विवरणहरू फरक पारेमा।
जालसाजी, कीर्ते वा नक्कली कागजात पेस गरी राजस्वमा हानि पुर्याएमा।
प्रतिबन्धित वस्तु घोषणा नगरेमा वा वस्तुको मूल्य न्यून बीजकीकरण (undervaluation) वा अधिक बीजकीकरण (overvaluation) गरेमा।
पुनः जाँचको प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन कार्यविधिले केही नियमहरू तोकेको छ:
सूचना र रोहवर: भन्सार अधिकारीले वस्तु नियन्त्रणमा लिनुअघि सम्बन्धित निकासीकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टलाई सूचना दिनुपर्छ र उनीहरूको रोहवरमा मुचुल्का तयार गर्नुपर्छ।
कागजातको विश्लेषण: जाँचका क्रममा थप जानकारी, तथ्यांक वा कागजात माग गरी विश्लेषण गर्न सकिनेछ।
प्रतिवेदन र कार्यान्वयन: पुनः जाँचपछि भन्सार अधिकारीले प्रतिवेदन पेस गर्नुपर्नेछ। महानिर्देशकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिन सक्नेछन्।
सहयोगको अपेक्षा: भन्सार अधिकारीले अनुसन्धानका लागि अन्य सरकारी कर्मचारी, प्रहरी, वित्तीय संस्था वा ढुवानीका चालकसँग पनि सहयोग वा सूचना माग गर्न सक्नेछन्।