काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएका मध्येबाट प्राडा दीपक अर्याललाई नियुक्त गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।
यसरी सिफारिस भएका तीन जनाबाट आज प्रा डा अर्याल उपकुलपतिमा नियुक्त एको प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव विष्णु सुवेदीले जानकारी दिए ।
समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो ।
उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।