arrow

त्रिविको शैक्षिक पात्रो सुधार्ने अभियान: असारभित्र सबै रोकिएका परीक्षा सकिने, साउनदेखि नियमित तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
tribhuwan-university-tu.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिग्रिएको शैक्षिक पात्रोलाई लयमा ल्याउन अनियमित रहेका परीक्षाहरू धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने लक्ष्यका साथ अहिले रोकिएका परीक्षाहरूलाई तीव्रता दिएको हो।

परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले शैक्षिक पात्रो सुधार्न अहिले महिनामा तीनदेखि चार प्रकारका परीक्षाहरू लिइरहेको जानकारी दिए। उनका अनुसार २०५३ सालदेखिका मौका परीक्षाहरू समेत आगामी असारसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ।

वैशाख महिनामा मात्रै चार प्रकारका परीक्षाहरू सञ्चालन भइरहेका छन्, जसमा स्नातक तहतर्फ बीएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, बीटेक पहिलो र दोस्रो वर्षका परीक्षाहरू सामेल छन्। यी परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी भइरहेका छन्। त्रिविले जेठ महिनाका लागि तीनवर्षे र चारवर्षे स्नातक तहको पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष र बीटेक तेस्रो वर्षको परीक्षा कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।

असार महिनाभित्र स्नातक तहका सबै संकायको चौथो वर्षको नियमित परीक्षा सम्पन्न गर्ने त्रिविको योजना छ। कोरोना महामारी र 'जेनजी' आन्दोलनका कारण नियमित हुन नसकेका सबै परीक्षाहरू असारसम्म सकेर आगामी साउनदेखि २०८३ को शैक्षिक पात्रोअनुसार नियमित परीक्षा सञ्चालन गरिने नियन्त्रक पौडेलले बताए। यसका साथै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सम्पन्न भएको सय दिनभित्रै नतिजा प्रकाशित गर्ने कार्यलाई पनि प्रभावकारी रूपमा अघि बढाएको छ। त्रिविको यो सक्रियताले विद्यार्थीहरूको अन्योल हट्ने र शैक्षिक सत्र नियमित हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ