विदेशी कलेजलाई कडा मापदण्ड, उत्कृष्ट हजार भित्रका विश्वविद्यालय मात्रै मान्य
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
244
Shares
काठमाडौँ । सरकारले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालन भइरहेका कलेजहरूको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावलीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।
यो नयाँ नियमावली लागू भएसँगै नेपालमा विदेशी शैक्षिक कार्यक्रम चलाउने कलेजहरूका लागि थप कडा र व्यवस्थित मापदण्ड लागू हुने भएको छ। उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले यो नीतिगत व्यवस्था गरिएको सरकारले जनाएको छ।
नयाँ नियमावलीअनुसार अब नेपालका कलेजलाई सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्नेछ। मन्त्रालयको व्यवस्थाअनुसार उक्त विश्वविद्यालय विगत पाँच वर्षको अवधिमा अन्तर्राष्ट्रिय र्याङ्किङमा निरन्तर समावेश भएको र कम्तीमा एक पटक उत्कृष्ट १,००० को सूचीमा परेको हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ।
त्यसैगरी, सम्बन्धित कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (क्यूएए) प्रक्रिया पूरा गरेको हुनुपर्नेछ भने कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता र उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गरिने व्यवस्था गरिएको छ।
यो नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजमा पनि समान रूपमा लागू हुनेछ। सरकारले तोकिएका मापदण्ड पूरा गर्न नसक्ने कलेजलाई सुधारका लागि निश्चित समय दिने र त्यस अवधिमा पनि मापदण्ड पूरा नगरेमा सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।