arrow

त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
kishor-thapa-oath.jpg

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेलले उनलाई शपथ गराएका हुन्। नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् थापालाई प्रधानमन्त्री एवं त्रिविका कुलपति वालेन्द्र शाहले सेवा आयोगको अध्यक्ष पदमा नियुक्त गरेका हुन्।

सोही अवसरमा मन्त्री पोखरेलको उपस्थितिमा नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई सेवा आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराए। शपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र संस्थागत सुधारमा जोड दिँदै २१औँ शताब्दीका नयाँ चुनौतीहरूको सामना गर्न अहोरात्र खटिने विश्वास व्यक्त गरे।

सहकुलपति एवं शिक्षामन्त्री पोखरेलको नेतृत्वमा गठित सिफारिस समितिले गत जेठ महिनामा खुला आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता र कार्यसम्पादनको विस्तृत मूल्याङ्कन तथा अन्तर्वार्तापछि समितिले तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा यो नयाँ नियुक्ति भएको हो, जसले आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने विश्वास गरिएको छ।

आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा सुपरिचित अध्यक्ष थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय बिताएका छन्। उनले सहरी विकास, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जल तथा ऊर्जा आयोगको सचिवालयमा सचिवका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

यसका साथै राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, नेपाल पर्यटन वर्ष २०११ र महाभूकम्पपछिको पुनःनिर्माण अभियानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिमा विज्ञ सदस्यका रूपमा समेत उनले महत्त्वपूर्ण योगदान दिएका छन्। हाल उनी नेपाल इन्स्टिच्युट अफ अर्बन एण्ड रिजनल स्टडिजमा सहरी योजना विज्ञ र काठमाडौँ विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ