arrow

शिक्षामन्त्री भन्छन्- कक्षा १२ को नतिजा ४० दिनभित्रै सार्वजनिक हुनु सुशासनको बलियो उदाहरण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
sasmit---.jpg

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका छन्।

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले नतिजा प्रकाशनमा देखाएको तदारुकताले समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

मन्त्री पोखरेलले यस वर्ष कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै सार्वजनिक गर्न सफल भएको जानकारी दिए। विगतमा नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेकोमा यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको उनको भनाइ छ।

नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षा समेत पछाडि धकेलिने गरेको स्मरण गर्दै मन्त्रीले अब विश्वविद्यालयहरूलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न यसले प्रेरित गर्ने उल्लेख गरे। त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्यतालिका अगाडि नै सुरु गर्ने तयारी गरिसकेको जानकारी समेत उनले दिए।

उनले भने, ‘यो केवल दिनको कटौती मात्र नभई सुशासनको एउटा बलियो उदाहरण हो। यसले अनावश्यक प्रशासनिक झमेलाहरूलाई हटाउँदा ४० दिनमै नतिजा ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ। यसबाट विश्वविद्यालयको भर्ना प्रक्रिया र शैक्षिक सत्र पनि समयमै सुरु हुने सुनिश्चितता भएको छ।’

परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै मन्त्रीले नतिजालाई जीवनको एउटा खण्डका रूपमा मात्र लिन र सोचेजस्तो नतिजा नआएका विद्यार्थीहरूलाई विचलित नहुन आग्रह गरे। उनले पूरक (ग्रेडवृद्धि) परीक्षाको तयारीमा जुट्न हौसला दिँदै आगामी शैक्षिक यात्राका लागि नेपालकै विश्वविद्यालयहरूमा पर्याप्त तयारी र अवसरहरू उपलब्ध रहेको बताए।

सरकारले विद्यार्थीको अमूल्य समय खेर जान नदिन र शैक्षिक निकायहरूको कार्यक्षमता अभिवृद्धि गर्न आगामी दिनमा पनि यस्तै कार्यदक्षता प्रदर्शन गर्ने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ