ड्रोन र पाइलटविहीन खेलको नियमनका लागि उडानको पहल, मन्त्री गुप्तासँग छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
689
Shares
काठमाडौं। मानवरहित विमान संघ नेपाल (उडान) को प्रतिनिधिमण्डलले बुधबार युवा तथा खेलकुद मन्त्रालयका मन्त्री बाब्लु गुप्तासँग भेटवार्ता गर्दै नेपालमा भइरहेको अनियमित ड्रोन तथा अन्य पाइलटविहीन खेल–गतिविधिबारे विस्तृत छलफल गरेको छ।
भेटवार्ताका क्रममा उडान टोलीले देशका विभिन्न स्थानहरूमा ड्रोन रेसिङ तथा पानी र हावामा सञ्चालन गरिने पाइलटविहीन उपकरणहरू बिना कुनै स्पष्ट मापदण्ड सञ्चालन हुँदै आएको उल्लेख गर्दै, यस्तो अवस्थाले सुरक्षादेखि खेलको मर्यादा तथा अनुशासनसम्म नकारात्मक प्रभाव पारिरहेकोप्रति मन्त्रीको ध्यानाकर्षण गराएको हो।
संघका प्रतिनिधिहरूले यस्ता गतिविधिको नियमन, अनुमति प्रक्रिया, निरीक्षण तथा सञ्चालन–अनुगमन कार्य केवल सरकारी निकायमा सीमित नराखी, प्राविधिक दक्षता भएका गैर–सरकारी संस्थालाई जिम्मेवारीसाथ प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए। उडान टोलीले उदाहरण दिँदै क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले क्रिकेट खेलको सम्पूर्ण संरचना सम्हाले जस्तै मानवरहित विमान–सम्बन्धी खेल तथा गतिविधिको औपचारिक संरचना उडान जस्ता विशेषज्ञ संस्थाले वहन गर्न सक्ने बताए।
भेटवार्तामा महासचिव प्रविन भट्टराईले प्रविधिमूलक खेलहरूलाई मन्त्रालयले आफ्नो संरचनाभित्र समावेश गर्नुपर्ने र राज्यको औपचारिक सहयोगले मात्र नेपालमा टेक्नोलोजिकल स्पोर्ट्सलाई विश्वस्तरीय स्तरमा उकास्न सकिने धारणा व्यक्त गरे। उनले हालै स्पेनमा सम्पन्न ड्रोन ट्याक्सी प्रतियोगिताको उदाहरण प्रस्तुत गर्दै नेपाल प्रविधि–नवप्रवर्तनमा पछि नपरोस् भन्नेतर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यस्ता प्रतियोगिताको आयोजना गर्न अत्यावश्यक रहेको विचार व्यक्त गरे।
त्यसैगरी, सदस्य इन्जिनियर मोतीराम इटानीले उचित नीति र पूर्वाधार उपलब्ध भएमा नेपालले विश्वका टेक्नोलोजिकल खेल तथा प्रतियोगितामा आफ्नो क्षमता मजबुत रूपमा प्रस्तुत गर्न सक्ने उल्लेख गरे। संघका उपाध्यक्ष प्रधुन्न मिश्र र इन्जि. सश्वत रिजालले सरकार युवाको मागप्रति सकारात्मक हुने विश्वास व्यक्त गर्दै, सरकारले यस्ता खेल र प्रविधिलाई प्राथमिकताका साथ हेरिदिने आशा प्रकट गरे। भेटवार्ता सकारात्मक वातावरणमा सम्पन्न भएको र निकट भविष्यमै आवश्यक नीतिगत पहल तथा समन्वय अघि बढ्ने अपेक्षा व्यक्त गरिएको उडानले जनाएको छ।