राष्ट्रिय वाणिज्य बैंकको प्रतित पत्र भरपर्दो, स्थापनाकालदेखि नै सेवा निरन्तर
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
219
Shares
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्थापनाकालदेखि नै वैैदेशिक व्यापारमा सहयोग पुग्ने गरी आफ्ना ग्राहकहरूको अनुरोधमा जारी गर्दै आएको प्रतित–पत्र (एलसी) विश्वासिलो भएको जनाएको छ ।
विश्वासिलो भएकै कारण अहिलेसम्म बैंकले निरन्तर प्रतित पत्र जारी गर्दै आएको बताएको छ ।
आयातकर्ता र निर्यातकर्ताको सहमति अनुसार बैंकले विशेषगरी साइट एलसी र उसेन्स एलसी गरी दुई प्रकारका प्रतित पत्रहरू जारी गर्ने गरेको उल्लेख गरेको छ ।
वैदेशिक व्यापारमा संलग्न उद्योगी व्यापारीहरूले प्रतित–पत्र सुविधाका लागि बैंकसँग अनुरोध गरी उक्त सुविधाको लागि घरजग्गाको धितोमा वा नगद मार्जिनमा प्रतित–पत्रको सीमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्रााहकहरूको लागि अधिकतम्म १० प्रतिशत नगद मार्जिनमा प्रतित–पत्र खोल्ने गरेको जानकारी दिएको छ ।
यसका लागि ग्राहकले पेश गरेको पर्पर्मेन्स इन्भइस बमोजिम बैंकले ग्राहकको तर्फबाट साइट एलसी वा युसेन्स एलसी खोलिदिन्छ ।
यस कागजातको आधारमा विदेशमा रहेको व्यापारीक संस्थाले मालसामान पठाउने कार्य गर्दछ । मालसामानसाथ पठाएको प्रतित–पत्र सम्बन्धी कागजात प्राप्त भईसकेपछि ग्राहकले उक्त कागजातको परीक्षण पश्चात बैंक मार्फत मालसामानको भूक्तानी पठाउनुपर्दछ ।
भुक्तानी पठाउने रकम ग्राहकसंग नभएमा बैंकले नै ट्रष्ट रिसिप्ट लोन (टीआर लोन) श्रृजना गरी रकम पठाइदिने गर्दछ ।
यस्तो कर्जाको लागि भने ग्राहकले कर्जा रकमको ८० प्रतिशतसम्मको धितो सुरक्षण बैंकलाई दिनुपर्दछ । यस्तो टीआर लोन सामान्यतया ९० दिनभित्र ग्राहकले चुक्ता गर्नुपर्दछ ।
राष्ट्रिय बाणिज्य बैंकले यस बैंकको ग्राहकको व्यापारिक सम्बन्ध तथा प्रतिष्ठाको आधारमा न्युनतम् शूल्कमा प्रतित–पत्र खोली वैदेशिक व्यापारमा संलग्न व्यापारीहरूलाई सहयोग पुर्याइरहेको जनाएको छ ।
आयात गरिने सामानहरू पूर्व सम्झौता अनुसार भएको यकिन भई कागजातहरू प्राप्त भइसकेपछि तत्काल भुक्तानी पठाउनुपर्ने गरी खोलिएको प्रतित–पत्र साइट एलसी हो भने सामान्यतया ९० दिनदेखि १ वर्षसम्मको उधारो सुविधा भएको अवस्थामा युसेन्स खोल्ने गरिन्छ ।
बैंकले स्थापनाकालदेखि नै गरेको निरन्तरको सेवामा कुनै पनि गुनासो नआएको दाबीसमेत गरेको छ । यस अर्थमा पनि यो भरपर्दो रहेको छ ।
के हो प्रतित–पत्र ?
प्रतित–पत्र (लेटर अफ क्रेडिट, एलसी) एक प्रकारको बैंक प्रतिवद्धता हो । यस्तो प्रतिवद्धतामा एउटा बैंकले आफ्नो ग्राहकको अनुरोधमा अर्काे बैंकका ग्राहकलाई प्रतित–पत्रमा तोकिएको शर्तहरू पूरा भएको खण्डमा तोकेको कागजातहरूको आधारमा उसको बैंक मार्फत रकम भुक्तानी गरी दिने ग्यारेन्टी गरिएको हुन्छ ।
विशेष गरी अन्तर्राष्ट्रिय व्यापारमा प्रतित–पत्रको आवश्यकता पर्दछ । यसले आयातकर्ता र निर्यातकर्ता दुबैपक्षलाई सुरक्षा प्रदान गर्दछ ।
आयातकर्ताले गुणस्तर र परिमाणको सुनिश्चितता खोजेको हुन्छ भने निर्यातकर्ताले समयमा भुक्तानी पाउने सुनिश्चितता चाहेको हुन्छ ।
प्रतित पत्रबाट कारोवार गर्दा निर्यातकर्ताको कागजातबाट आयातकर्ताले चाहे बमोजिमको गुणस्तर र परिमाण प्रमाणित नभएसम्म भुक्तानी नदिने हुँदा आयातकर्ता सुरक्षित हुन्छ भने निर्यातकर्ता पनि आफूले बिक्री गरेको वस्तुसँग सम्बन्धित कागजातहरू आफूले रोजेको स्थानीय बैंकमा पेश गरेपछि भुक्तानी पाउने कुरामा ढुक्क हुने भएकोले सुरक्षित महसुस गर्दछ ।
विश्वको कुनै पनि मुलुकमा रहेको एक व्यापारीले विश्वको अर्काे कुनै मुलुकमा रहेको व्यापारीसँग सजिलै व्यापारिक कारोबार गर्न प्रतित–पत्रले महत्वपूर्ण सहयोग पुर्याएको हुन्छ ।