त्रिविको ५१औँ दीक्षान्त आज: नोबेल विजेता काजिताको उपस्थितिमा १६ हजार विद्यार्थी दीक्षित हुँदै
८९ हजार उत्तीर्ण भए पनि १६ हजार विद्यार्थीले मात्रै लगाउँदैछन् 'गाउन'
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
796
Shares
काठमाडौँ। मुलुककै जेठो र ठुलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औँ दीक्षान्त समारोह आज भव्य रूपमा आयोजना गरिँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिको रूपमा निम्त्याएर यो समारोह ऐतिहासिक बनाउन लागिएको हो।
समारोहमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। टोकियो विश्वविद्यालयमा आबद्ध काजिताको उपस्थिति र सम्बोधनले दीक्षित हुने विद्यार्थीहरूलाई थप प्रेरित गर्ने उपकुलपति प्रा.डा. दीपक अर्यालले बताए। समारोहका लागि मण्डप निर्माण र सुरक्षा व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको छ।
यस वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भए पनि समारोहमा प्रत्यक्ष सहभागिताका लागि १६ हजार ३८० विद्यार्थीले आवेदन दिएका छन्। विद्यार्थी र अभिभावक गरी कुल ४१ हजार जनाको उपस्थिति रहने अनुमान गरिएको यस समारोहमा विभिन्न सङ्कायका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ११ छात्रा र १४ छात्र गरी २५ जनालाई स्वर्ण पदक प्रदान गरिनेछ।
त्रिविको यस वर्षको नतिजामा सबैभन्दा बढी व्यवस्थापन सङ्कायबाट ४३ हजार ६१० जना उत्तीर्ण भएका छन् भने शिक्षातर्फ १६ हजार ४६७, मानविकीमा १४ हजार ८५१ र कानुनतर्फ २ हजार ३३५ जना उत्तीर्ण भएका छन्।