विश्वविद्यालयमा दलीय राजनीतिकरणको अन्त्य र शिक्षामा लगानी बढाऊ : प्रधानमन्त्री कार्की [भिडियो]
शिक्षामा लगानी र प्राज्ञिक स्वतन्त्रतामा प्रधानमन्त्रीको जोड
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
913
Shares
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपालको उच्च शिक्षा क्षेत्रमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन्। बिहीबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयहरूलाई राजनीतिक अखडा नभई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षसँग आह्वान गरिन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले शैक्षिक प्रशासनमा हुने अनावश्यक दलीय हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले अबका दिनमा शिक्षामा राज्यको लगानी बढाउनुको विकल्प नरहेको स्पष्ट पारिन्। "नेपालमा शिक्षामा लगानी गर्नुपर्ने ठुलो आवश्यकता छ," उनले भनिन्, "दलीय हस्तक्षेपले हाम्रो शिक्षा प्रणालीलाई कमजोर बनाएको छ, यसलाई सुधार्नु आजको प्रमुख चुनौती हो।"
प्रधानमन्त्री कार्कीले एउटा महत्वपूर्ण नीतिगत परिवर्तनको सङ्केत गर्दै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने हालको व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको बताइन्। उनले कुलपति र उपकुलपति नियुक्ति प्रक्रियालाई राजनीतिक प्रभावबाट मुक्त राख्न परामर्श र आवश्यक गृहकार्य भइरहेको जानकारी समेत दिइन्।
उच्च शिक्षाका लागि हजारौँ नेपाली विद्यार्थीहरू विदेश जानुपर्ने बाध्यकारी अवस्थालाई अन्त्य गर्न स्वदेशमै गुणस्तरीय र विश्वबजारमा प्रतिस्पर्धी शिक्षा उपलब्ध गराउनु पर्नेमा उनले जोड दिइन्। दीक्षित विद्यार्थीहरूलाई आफ्नो ज्ञान र सीपको प्रयोग मुलुकको हितमा लगाउन आग्रह गर्दै उनले शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताइन्।